काठमाडौं – केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी निर्देशनको ७१ व्यवस्थामा हेरफेर गरेको छ । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुका लागि जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन (२०८०) मा संशोधन तथा परिमार्जन गरेको हो ।
नेपाल राष्ट्र बैंकले सो निर्देशिका जारी गर्दै प्राकृतिक व्यक्तिको एउटा खाताबाट एकै प्रकृति (डेविट/क्रेडिट/प्रिपेड) को एक भन्दा बढी कार्ड जारी गर्न नपाइने व्यवस्था गरेको छ । यता केन्द्रीय बैंकले प्रत्येक कारोबार सम्पन्न भएपछि अनिवार्य रूपमा सम्बन्धित ग्राहकलाई तत्काल एसएमएस मार्फत सन्देश दिनुपर्ने व्यवस्था भने खारेज गरेको छ ।
केन्द्रीय बैंकले यो निर्देशिका जारी गरेसँगै बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख, प्रतिमहिना १० लाख, वालेटबाट अन्य बैंक खातामा प्रतिदिन २ लाख र प्रतिमहिना १० लाख साथै एक वालेटबाट अर्को वालेटमा प्रतिदिन ५० हजार र प्रतिमहिना ५ लाखको कारोबार गर्न पाउने भएका छन् ।
युएसएसडि प्रणालीमा आधारित भुक्तानी कारोबारको अधिकतम सीमा दैनिक १० हजार र प्रति कारोबार ५ हजार हुनुपर्ने छ । निर्देशिकाअनुसार शाखारहित बैंकिङ्ग सेवा बन्द गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने छ ।
प्रतिक्रिया