बैंकिङ्ग निक्षेप र कर्जा प्रवाह दुवैमा सामान्य गिरावट

'सिडी रेसियो ७९ दशमलव ५३ प्रतिशत'


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा गिरावट देखिन थालेको छ । केन्द्रीय बैंकको फागुन १६ र १७ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीको निक्षेपमा एकैदिन २ अर्ब रुपैयाँको गिरावट देखिएको छ । 

त्यस्तै, सो अवधिमा वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेप पनि घटेको छ । फागुन १६  गते ६ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरू १७ गते ६ खर्ब ९ अर्ब रुपैयाँ रकम बराबरको निक्षेप संकलन गरेका छन् । 

सो अवधिमा कर्जा प्रवाहमा पनि गिरावट देखिएको छ । फागुन १६ गते ५४ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ५४ खर्ब ४५ रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जामा समेत गिरावट देखिएको छ ।

अघिल्लो दिन ४८ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ४८ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।  सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ५३ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।