काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति अर्धवार्षिक समीक्षामा गरेका विभिन्न व्यवस्था लागू गर्न सर्कुलर जारी गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामा सामावेश भएका व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई ७ बुँदे निर्देशिका जारी गरेको हो ।
नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै वर्गीकरण गरिएका कर्जा तथा बिल्स खरिदको लागि बक्यौता साँवा रकमको आधारमा असल कर्जामा १.०० प्रतिशत, सुक्ष्म निगरानी कर्जामा ५ प्रतिशत, कमसल कर्जामा २५ प्रतिशत, शंकास्पद कर्जामा ५० प्रतिशत र खराब कर्जामा १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था लागू गर्नुपर्ने बताएको हो ।
त्यस्तै, केन्द्रीय बैंकले साना तथा मझौला उद्योग–व्यवसायलाई पनि सहजता प्रदान गरेको छ । राष्ट्र बैंकले साना तथा मझौला उद्योग सञ्चालनलाई सहजीकरण गर्न बैंक वित्तीय संस्थाबाट प्रवाह भएको २ करोडसम्मको कर्जालाई पुनतालिकिकरण गर्न सक्ने बताएको हो । ऋणीको अनुरोधमा उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी एक पटकको लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असूली पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सकिने व्यवस्था पनि गरेको छ । त्यसैगरी, संस्थाले सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा सवारी साधनको ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने बताएको छ ।
प्रतिक्रिया