साताको सुन कारोबार, प्रतितोला २२ सयले घट्यो मूल्य

साताको सुन कारोबार, प्रतितोला २२ सयले घट्यो मूल्य


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको थियो । मूल्य बढेसँगै त्यसदिन छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भयो ।

त्यस्तै, आइतबार बढेको सुनको मूल्य सोमबार पनि बढ्यो । सोमबार ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७० हजार आठ सय रुपैयाँ पुग्यो । आइतबार र सोमबार बढेको सुनको मूल्य मंगलबार पनि बढ्यो । त्यसदिन प्रतितोला सुन ५ सय रुपैयाँले बढेसँगै सुनको मूल्य १ लाख ७१ हजार ३ सय रुपैयाँ कायम भयाे ।

३ दिनसम्म लगातार बढेको सुनको मूल्यमा बुधबार भने गिरावट आयो । बुधबार प्रतितोला ८ सय रुपैयाँले घटेसँगै सुनको मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँमा ओर्लियो । यस्तै, बिहीबार २ सय रुपैयाँले घटेसँगै सुनको मूल्य १ लाख ७० हजार ३ रुपैयाँ कायम भयो ।

साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घट्यो । यसदिन सुन १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । समग्रमा यो साता सुनको मूल्यमा २२ सय रुपैयाँको गिरावट देखियो । अघिल्लो साता सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले बढेको थियो ।