मौद्रिक नीति समीक्षाको अन्तिम तयारीमा राष्ट्र बैंक, बोर्ड बैठक बस्दै

मौद्रिक नीति समीक्षाको अन्तिम तयारीमा राष्ट्र बैंक, बोर्ड बैठक बस्दै


काठमाडौं – नेपाल राष्ट्र बैंक मौद्रिक नीतिकाे अर्धवार्षिक समिक्षाकाे अन्तिम चरणमा पुगेको छ । मौद्रिक नीति समिक्षाका विषयमा आज राष्ट्र बैंक सञ्चालक समिति बैठक बस्ने भएको हो । सो बैठकबाट पारित भएपश्चात् मात्रै मौद्रिक नीति समिक्षा सार्वजनिक हुने केन्द्रीय बैंकका एक निर्देशकले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अन्तिम मौद्रिक नीति समिक्षा भएकाले सबैको ध्यान यतातर्फ गएको देखिन्छ । अधिकारीको अन्तिम मौद्रिक नीतिको समीक्षा भएका कारण मौद्रिक नीति जस्तै मौद्रिक नीति समीक्षा नै खुकुलो आउने अपेक्षा गरिएको छ । मौद्रिक नीति समीक्षाका लागि केन्द्रीय बैंकले सबै क्षेत्रसँग सुझाव संकलन समेत गरेको छ ।

राष्ट्र बैंकले सुरुमा नै लचिलो नीति लिएको बताउँदै पहिलो त्रैमासिक समिक्षामा नीतिगत परिवर्तन नगरेकाले यसपटक पनि खास नीतिगत परिवर्तन नहुने हो कि भन्ने कतिपयले धारणा व्यक्त गरेका छन् । लामो समययता बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिदो क्रममा छ । बैंकिङ्ग क्षेत्रबाट हुने कर्जा प्रवाहमा सुधार नआउँदा प्रणालीमा पैसा थुप्रिएको हो ।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता हुँदा केन्द्रीय बैंकले लगानी बढ्ने हिसाबले मौद्रिक नीति समिक्षा गर्नुपर्ने अवस्था आएको बैंकिङ्ग विज्ञहरु बताउँछन् । नेपाल राष्ट्र बैंक मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को व्यवस्थाअनुसार मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनसम्म सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।