६ महिनामा सेवा आय ४३ अर्ब ५३ करोडले घाटामा


काठमाडौं – चालु आर्थिक वर्षको ६ महिनामा खुद सेवा आय ४३ अर्ब बढी रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको हाे।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो। सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमणआय ५.१ प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई १०१ अर्ब ९२ करोड रूपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फकाे व्यय ५६ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ५८ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।