काठमाडौं – केन्द्रीय बैंकले नेपाल पे टाइम प्राइभेट लिमिटेडलाई प्रदान गरेको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र (लाइसेन्स) नवीकरण नगर्ने भएकाे छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार एक सूचना जारी गर्दै उक्त अनुमतिपत्र नवीकरण नगरिएको जानकारी दिएकाे हाे ।
संस्थाले लामो समयदेखि सेवा बन्द राख्नु, भुक्तानी सेवाका लागि आवश्यक वालेट एप प्ले स्टोर र एप स्टोरमा उपलब्ध नहुनु, संस्थागत सुशासन कमजोर देखिनु तथा राष्ट्र बैंकका निर्देशनहरू पालना नगरेकाले लाइसेन्स नवीकरण नगरिएकाे केन्द्रीय बैंकले जनाएकाे छ । केन्द्रीय बैंकले संस्थालाई २०७६ भदौ १९ मा अनुमतिपत्र दिएकाे थियाे ।
राष्ट्र बैंकले भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा १३(४) बमोजिम उक्त अनुमतिपत्र नवीकरण नगरिएको स्पष्ट बताएकाे छ । साथै, नेपाल पे टाइमले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूले संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए, सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ।



About Us
प्रतिक्रिया