सिटिजन्स बैंकले ल्यायो ‘डिजिटल फिक्स्ड डिपोजिट’ योजना


काठमाडौं –प्रविधिको विकाससँगै बैंकहरूले ग्राहकले नयाँ–नयाँ सुविधामात्रै नभएर निक्षेप निक्षेप संकलनका लागि पनि नयाँ सोच राख्न लागेका छन्। डिजिटल बैंकिङ्गको नाममा बैंकहरुले मोबाइल बैंकिङ्ग मार्फत विभिन्न मर्चेन्टको बिल भुक्तानी जस्ता मात्रै सुविधाहरु दिँदै आएकोमा पछिल्लो समयम भने बैंकहरुले बैंकिङ्ग योजना तथा प्रोडक्ट समेत मोबाइल बैंकिङ्गमा ल्याउन लागेका छन् ।

सिटिजन्स बैंकले हालै मात्रै मोबाइल बैंकिङ्ग मार्फत नै मुद्दति निक्षेप राख्न सक्ने ‘डिजिटल फिक्स्ड डिपोजिट’ योजना ल्याएको छ । बैंकले निक्षेपतर्फका ग्राहकहरूलाई लक्षित गरी डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको हो ।

डिजिटल माध्यमको विकाससँगै लागत र समयको बचत गर्ने उदेश्यले बैंकको उक्त डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको बैंकले जनाएको छ । ग्राहकलाई डिजिटाइजेसनको ज्ञान वृद्धि गराउनको लागि बैंकले डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको हो ।

उक्त प्रोडक्टको मूख्य उद्देश्य नै बैंकका ग्राहकलाई डिजिटल कारोबारमा बानी बसाल्नु रहेको छ । ‘बैंकले निक्षेप संकलनका लागि मात्रै नभई ग्राहकलाई डिजिटलमैत्री बनाउन पनि यसले टेवा पुर्‍याउनेछ । खाता खोलेपछि डिजिटलबाट कारोबार गराउने उद्देश्य छ । डिजिटल कारोबारमा प्रोत्साहन गर्न र शतप्रतिशत कारोबार डिजिटल माध्यमबाटै गराउने योजना रहेको बैंकले जनाएको छ ।

के हो डिजिटल फिक्स्ड डिपोजिट ?
बैंकमा बचत खाता भएर मोबाइल बैंकिङ्ग सुविधा प्रयोग गर्ने ग्राहकले सजिलै मोबाइल बैंकिङ्ग मार्फत नै मुद्धति निक्षेपमा पैसा राख्न सक्ने सुविधा नै डिजिटल फिक्स्ड डिपोजिट हो । उक्त प्रोडक्टमा ब्याज पनि पाइन्छ । बैंकमा बचत खाता समेत अनलाइनबाट नै खोल्न सक्ने सुविधा रहेकोले ग्राहकले बैंकमा नगई मुद्दति निक्षेपमा रकम राख्नसक्ने सुविधा रहेको छ ।

डिजिटल फिक्स्ड डिपोजिट खाता खोलेको एक वर्षसम्म अहिले दिएको ब्याजदर कायम नै रहनेछ । न्युनतम १० हजार रूपैयाँदेखि ५ करोड रूपैयाँसम्म डिजिटल मुद्दती निक्षेप राख्दा बैंकले अन्य मुद्दती निक्षेपभन्दा ०।२५ प्रतिशत बढी ब्याजदर दिन्छ ।

‘मोबाइल बैंकिङ्गबाट मुद्दती निक्षेप खाता खोल्दा बैंकले ५.७५ प्रतिशत ब्याजदर दिन्छ । अब ग्राहकले कुनै पनि बैंकिङ्ग कारोबारका लागि बैंकसम्म धाउनुपर्दैन, सबै मोबाइलबाटै हुन्छ, घरमै बसेर बैंकिङ्ग कारोबार गरौं भनेर ग्राहकलाई प्रोत्साहित गर्न खोजिएको बैंकले जनाएको छ ।