वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौता ‘सम्भव’ रहेको बताएका छन् । बुधबार ट्रम्पले सन् २०२० मा अमेरिकाले चीनसँग ठुलो व्यापार सम्झौता गर्न सहमति जनाइसकेको र नयाँ सम्झौता सम्भव भएको बताएका हुन् ।
आफ्नो दोस्रो कार्यकालको एक महिनापछि ट्रम्पले चीन, छिमेकी क्यानडा, मेक्सिको र युरोपेली संघलाई लक्षित गर्दै सहयोगी र प्रतिद्वन्द्वीमाथि व्यापक कर लगाउने चेतावनी दिएका थिए ।
फेब्रुअरीको सुरुमा उनले चीनबाट आयात हुने सबै उत्पादनमा १० प्रतिशत थप भन्सार शुल्क लगाएका थिए । उनले सबै आयातित कारहरूमा २५ प्रतिशत कर लगाउने र औषधि र ‘सेमिकन्डक्टर’मा समान वा उच्च शुल्क लगाउने चेतावनी पनि दिँदै आएका छन् ।
ट्रम्पले सुरुमा सबै क्यानेडियाली र मेक्सिकोली आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए, तर निर्णय लागु हुनुभन्दा केही घण्टाअघि सैद्धान्तिक रूपमा निर्णयलाई थाती राख्दै मार्च १ सम्म निर्णयलाई कार्यान्वयनमा नलाने बताएपछि एक महिनाका लागि राहत मिलेको थियो ।
उनले गत हप्ता विदेशबाट आयात हुने स्टिल र आल्मुनियममा २५ प्रतिशत थप कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । एएफपी






About Us
प्रतिक्रिया