काठमाडौं – पछिल्लो २४ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ। हाम्रो देश यतिबेला रेमिट्यान्सले चलिरहेको छ भन्ने यथार्थलाई नकार्न सकिँदैन । यही क्रमले निरन्तरता पाउँदै चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ७ खर्ब ६३ अर्ब ८ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ।
चालु आर्थिक वर्षको ६ महिनाम नेपालमा भित्रने रेमिट्यान्स ४.१ प्रतिशतले वृद्धि भएको छ । चालु आवको पौष मसान्तसम्म गत वर्षको सोही अवधिको तुलनामा ४.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आवको सोही अवधिमा ७ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।
गत वर्षको सोही अवधिमा रेमिट्यान्स २२.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । गत वर्ष यस्तो रेमिट्यान्स १९.५ प्रतिशतले बढेको थियो।
कुन महिनमा कति भित्रियो रेमिट्यान्स ?
साउन – १ खर्ब ३६ अर्ब रुपैयाँ
भदौं – १ खर्ब २६ अर्ब रुपैयाँ
असोज – १ खर्ब ४४ अर्ब रुपैयाँ
कात्तिक– १ खर्ब १४ अर्ब रूपैयाँ
मंसिर– १ एक खर्ब १८ अर्ब रूपैयाँ
पुष – पुसमा १ खर्ब २२ अर्ब रूपैयाँ
यस वर्ष वैदेशिक रोजगारीमा जाने युवा संख्यामा भने सुधार देखिएको छ। यस वर्ष ६ महिनामा नयाँ श्रम स्वीकृति (संस्थागत/व्यक्तिगत) लिने नेपालीको संख्या २ लाख ३० हजार ४ सय ३९ र पुनः श्रम स्वीकृति (संस्थागत/व्यक्तिगत) लिनेको संख्या १ लाख ६२ हजार ६ सय २८ रहेको छ।
अघिल्लो वर्ष यसै अवधिमा यो संख्या क्रमशः २ लाख ६ हजार ३ सय ९० र १ लाख ३३ हजार ९ सय ४० थियो । ६ महिनामा खुद द्वितीय आय (ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड थियो।



About Us
प्रतिक्रिया