२१ औँ शताब्दीमा प्रमुखता हासिल गर्न सक्ने अर्थशास्त्रका केही उदयीमान अवधारणाहरु


मूलधार (अर्थाेडक्स) र फरकधार (हेटेरोडक्स) – अवधारणाहरुलाई बयान गर्ने यी विशेषणहरु समयका उपज
हुन् । हिजो फरकधारमा मात्र सीमित रहेको अवधारणा आज मूलधारमा आइसकेको हुनसक्छ र आज मूलधारले अँगालेको अवधारणा भोली फेरि सर्वमान्य नभइरहन पनि सक्छ ।

उदाहरणको लागि १८ औँ र १९ औँ शताब्दीको मूलधार अर्थशास्त्र अर्थात क्लासिकल इकोनोमिक्सको अधिकांश ध्यान माइक्रो इकोनोमिक विषयवस्तुहरुमा केन्द्रित रहेको पाउँन सकिन्छ । तत्समयको मूलधार अर्थशास्त्रको मुख्य ध्येय कुनै पनि वस्तुको मूल्य निर्धारण गर्न तर्फ (अर्थात थियरी अफ भ्याल्यु) मा केन्द्रित रहेको र यसो गर्ने शैली फेरि कस्ट अफ प्रोडक्सन मेथडमा (अर्थात औसत मुल्यमा) आधारित रहेको समेत पाउन सकिन्छ । एडम स्मिथ, डेभिड रिकार्डाे, जन् स्टुअर्ट मिल र कार्ल माक्र्स जस्ता क्लासिकल इकोनोमिक्सका महानतम् हस्तीहरुको कृति एवम् प्रमुख सिद्धान्तहरुलाई नियाल्दा यो कुरा प्रष्टै उजागर भएर आउँछ । २० औँ शताब्दीमा फेरि अर्थशास्त्रको विधाको मेथड अथवा शैली औसत मुल्यबाट मार्जिनल कस्ट मेथडमा रुपान्तरित भएको र १९२९–१९३९ को चरम मन्दी अथवा द ग्रेट डिप्रेसनपश्चात यो विधाको अधिकांश ध्यान माइक्रोबाट म्याक्रो इकोनोमिक्सतर्फ मोडिएको पनि देख्न सकिन्छ ।

अर्थशास्त्रको विधामा विद्यमान विचारधाराहरुको प्रतिस्थापन हुने क्रम २१ औँ शताब्दीमा पनि कायमै रहेको
देखिन्छ । जस्तै कि डेभिड रिकार्डाे र कार्ल माक्र्सको अर्थशास्त्रमा मुख्य विषयवस्तु रहेको उत्पादनको विभाजनसम्बन्धी मुद्दा (डिष्ट्रिब्युसन् अफ् आउटपुट) २० औँ शताब्दीमा आएर मूलधार अर्थशास्त्रीहरुमाझ करीब करीब विस्मृत हुन गएको देखिन्छ । तर फेरि २१ औँ शताब्दीमा आए पछि यही विषयवस्तुले पुनः निकै महत्व हासिल गरेको समेत देखिन्छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता मूलधार संस्थाहरुले आर्थिक असमानताको मुद्दालाई प्रदान गरेको महत्व, आर्थिक असमानतालाई आफ्नो अनुसन्धानको मुख्य विषयवस्तु बनाएका टोमा पिकेटी जस्ता अर्थशास्त्रीहरुको उदय, आदि यसका केही प्रमुख उदाहरणहरु हुन सक्छन् ।

उपर्युक्त पृष्ठभूमिमा यो लेखको उद्देश्य २१ औँ शताब्दीमा प्रमुखता हासिल गर्न सक्ने सम्भावना बोकेका केही उदयीमान अर्थशास्त्रीय अवधारणाहरुलाई पाठकवर्गसमक्ष पेश गर्नु रहेको छ ।

१. विहेभ्यरियल इकोनोमिक्स

२१ औँ शताब्दीमा अर्थशास्त्रको विधा अन्तर्गत सम्भवतः सबैभन्दा अधिक सम्भावना बोकेको धार भनेको विहेभिरियल इकोनोमिक्स नै हो । सन् २००० देखि हालसम्म यस विधाका दुई अनुयायीहरु –ड्यानियल कनन्मन् (सन् २००२ मा) र रिचर्ड थेलर (सन् २०१७ मा) ले नोबेल पुरस्कार प्राप्त गरेको तथ्यबाट समेत यो कुराको अनुमान गर्न सकिन्छ ।
विहेभ्यरियल इकोनोमिक्सको विषयवस्तु वास्तविक दुनियाँमा मानिसहरुले लिने निर्णय र उपलब्ध विकल्पहरुमध्येबाट गर्ने छनौटसँग सम्बन्धित रहेको छ । अर्थात यसले म्याक्रोभन्दा माइक्रो इकोनोमिक्ससँग सम्बन्ध राख्छ ।
अर्थशास्त्रको यो धारको विशेषता के हो भने यसको शैली (मेथड) वास्तवमा वैज्ञानिक छ । उदाहरणको लागि जहाँ माइक्रो इकोनोमिक्सको विधामा स्थापित रहेको मूलधार हाँगा – नियो क्लासिकल इकोनोमिक्स अनेकन काल्पनिक (र अक्सर गलत) पूर्वधारणा (अजम्सन्) हरुको आधारमा मानवीय निर्णय र छनौटहरुका लागि सुन्दर सुत्रहरुमा व्यक्त गर्न सकिने गणितीय सिद्धान्तहरुको मृगतृष्णामा एक शताब्दीभन्दा अधिक समयदेखि भटकिरहेको छ, त्यहि विहेभ्यरियल इकोनोमिक्सले सच्चा विज्ञानको शैलीमा कुनै पूर्वधारणा बिनै वास्तविक संसारमा विभिन्न परिस्थितिमा लिइने निर्णयहरुको पहिचान एवम् अध्ययन गर्छ र यसबाट जे नतिजा प्राप्त हुन्छ, सोहि बमोजिम सिद्धान्त प्रस्ताव गर्दछ ।
उदाहरणको लागि सम्पूर्ण नियो क्लासिकल इकोनोमिक्स नै विवेकशील मानवको पूर्वधारणामा आधारित रहेको छ । यस्तो मानिससँग निर्णय गर्नका लागि आवश्यक हुने सम्पूर्ण विषयवस्तुहरुको पूर्ण ज्ञान हुन्छ, उसले प्रत्येक सानो–ठूलो निर्णय गर्दा उपलब्ध विकल्पहरुलाई बिस्तारमा केलाउँछ र आफ्नो स्वाद एवम् प्राथमिकता अनुरुप सर्वाेत्कृष्ट विकल्पको छनौट गर्दछ । नियो क्लासिकल इकोनोमिक्सले परिकल्पना गरेको विवेकशील मानवले लिने विभिन्न निर्णयहरुमा कुनै विरोधाभास हुँदैन र उसलाई परिस्थिति र अझ विशेषगरी मानवीय भावनाहरुले कुनै असर गर्दैन् ।
अर्थशास्त्रको विधाका कट्टरपन्थीहरु बाहेक अन्य कुनै पनि साधारण मानिसले नियो क्लासिकल इकोनोमिक्सको यो चित्रणसँग सहमति जनाउँन सक्दैन । कारण स्पष्ट छ – निर्णय गर्दा सम्पूर्ण ज्ञान कसैसँग पनि हुँदैन र यस्तो पूर्ण ज्ञान÷जानकारी प्राप्त गर्न सकिने भए तापनि विभिन्न कारणले गर्दा (स्रोत–समयको अभाव, अल्छीपना, आदि) वास्तविक संसारका वासिन्दाहरुले पूर्ण जानकारी प्राप्त गर्दैनन् । साथै, हामीले लिने निर्णयहरुमा अक्सर विरोधाभास देखिन्छन् र बाह्य परिस्थिति एवम् विभिन्न भावनाहरुले हाम्रो निर्णयमा ठूलो प्रभाव पारिरहेका हुन्छन् ।
विहेभ्यरियल इकोनोमिक्सले वास्तवमा यही जगजाहेर कुरालाई आफ्ना प्रयोगहरुमार्फत् थप उजागर गर्छ र यस पछाडिको कारणहरु प्रस्ताव गरी यसलाई एउटा सैद्धान्तिक ढाँचा प्रदान गर्छ । उदाहरणको लागि ड्यानियल कनन्मन् र एमोस् भेरस्कीले प्रतिपादन गरेको प्रोस्पेक्ट थियरीले के प्रस्ताव गर्छ भने अधिकांश व्यक्तिहरु नाफाको मामलामा जोखिम लिन चाहँदैनन् तर नोक्सानको मामलामा भने सोहि व्यक्तिहरु अधिक जोखिम लिन उद्दत हुन्छन् (अर्थात मानिसहरुको जोखिम लिने निर्णयमा विरोधाभास देखिन्छ र यो यदाकदा मात्र हुने होइन, सिस्टम्याटिक नै हुन्छ) ।
रिचर्ड थेलरले त नियो क्लासिकल इकोनोमिक्सको काल्पनिक संसारको मानिस र वास्तविक संसारको मानिसलाई इकोन्स् र ह्युमनस् भनी भन्ने सटिक ढङ्गले छुट्टयाएका समेत छन् ।
नियो क्लासिकल इकोनोमिक्स वास्तवमा गलत पूर्वधारणा एवम् फगत इन्टरनल कन्सिस्टेन्सीको शैली (मेथड) मै मात्र आधारित रहेको हुनाले यसमा विज्ञान भन्दा पनि प्राचिन युगमा व्याप्त रहेको मेटाफिजिक्स्को झल्को आउँछ । यसको तुलनामा विहेभ्यरियल इकोनोमिक्सका सिद्धान्तहरु अनेकन शोधकर्ताहरुको सयौँ प्रयोगबाट प्राप्त नतिजाको आधारमा प्रमाणित एवम् पटक पटक पुनः प्रमाणित हुँदै आएको हुनाले अन्ततः माइक्रो इकोनोमिक्सको विधामा विहेभ्यरियल इकोनोमिक्सले नियो क्लासिकल इकोनोमिक्सलाई प्रतिस्थापन गर्दै जाने सम्भावना रहेको देखिन्छ ।

२. लिवरटेरियन पटर्नलिज्म्

अर्थशास्त्रमा खुला विचारधारा अँगाल्नेहरुका लागि सम्भवतः सबैभन्दा ठूलो समस्याको रुपमा अर्थशास्त्रका सिद्धान्तहरुले दिने निश्कर्ष एवम् सुझावहरु र कुनै पनि व्यक्तिले आफ्नो इच्छानुसार आफ्नो लागि निर्णय गर्ने अधिकारबीच तादात्म्यता एवम् सन्तुलन कायम गर्ने कार्य रहँदै आएको छ । तीव्र गतिमा मोटरसाइकल चलाउनेलाई राज्यले हेल्मेट अनिवार्य गर्नु हुन्छ वा हुँदैन भन्ने मुद्दादेखि तजबिजी रुपमा अर्थतन्त्रमा हस्तक्षेप गर्ने अधिकार राज्य वा केन्द्रीय बैंकसँग हुन्छ वा हुँदैन भन्ने विषयमा समेत यो कथन सान्दर्भिक भई आउँछ ।
यस विषयमा खुला विचारधारा राख्ने खेमाको लागि रिचर्ड थेलर र कास् सन्स्टीले आफ्नो उत्कृष्ट कृति नज्मार्फत् निम्नानुसारको व्यवहारिक समाधान प्रदान गरेका छन् – लिवरटेरियन पटर्नलिज्म् । एस्सो हेर्दा विरोधाभासपूर्ण जस्तो देखिने यो अवधारणा वास्तवमा अबब्ल एवम् उम्दा छ ।
लिवरटेरियन पटर्नलिज्म्ले व्यक्तिको छनौट एवम् निर्णय गर्ने स्वतन्त्रतालाई उसको हितभन्दा पनि माथि राख्दछ । तर, यदि कुनै व्यक्तिले पूर्ण जानकारीको अभाव लगायतको कारणले गर्दा स्वयंको हित प्रतिकुल हुने कुनै निर्णय गर्न खोज्दैछ भने उसलाई उपयुक्त वा झन मनासिब निर्णय गर्नको लागि झकझकाउने सम्मको कार्य गर्दा निजको स्वतन्त्रता हनन् हुँदैन, त्यसैले त्योसम्म राज्यले गर्न मिल्छ र आफ्नो कर्तव्य बमोजिम गर्नु पर्छ पनि भन्ने कुरा समेत यो अवधारणाले स्वीकार गर्छ ।
यसरी झकझकाउने कार्यलाई विहेभ्यरियल इकोनोमिक्सको भाषामा नज् भनिन्छ र यो झकझकाहट अक्सर डिफल्ट अप्सनको रुपमा उपलब्ध हुन्छ । जस्तै कि भविष्यका लागि आज सामाजिक सुरक्षा योजना (ऐच्छिक प्रकारको) मा सहभागी हुने कि नहुने ? अवकाशपश्चातको समयका लागि आजै तयारी गरेको सामान्यतया सबैजनाको लागि उत्तम नै हुने भएकाले यहाँ डिफल्ट अप्सनमा सामाजिक सुरक्षा योजनामा आबद्ध हुने विकल्पलाई राख्न सकिन्छ ताकि आबद्ध हुनका लागि केही गर्न नपरोस् तर आबद्ध नहुनका लागि भने स्पष्ट अनुरोध नै गर्नु परोस् ।
साथै, राज्यले यसरी व्यक्तिलाई उसका लागि बढी फलदायी निर्णय लिनको लागि झकझकाउने कार्य सबै मामलाहरुमा गर्न मिल्दैन । यो कार्य केही अति महत्वपूर्ण र÷वा कुनै निश्चित विकल्पको चयन गरेमा स्पष्ट रुपमा व्यक्तिको हित हुन जाने कार्यहरुको हकमा मात्र गर्न सकिन्छ भन्ने कुरा समेत यो अवधारणाले बताउँछ ।
उदाहरणको लागि उपर्युक्तको उदाहरणमा लिवरटेरियन पटर्नलिज्म् अवधारणा अन्तगर्तको नज् हुनको लागि उक्त विकल्प स्पष्ट रुपमा व्यक्तिको हितमा हुनुपर्दछ । जस्तै कि उक्त सामाजिक सुरक्षा योजनाको ठूलो हिस्सा रोजगारदाताले भुक्तानी गर्ने प्रकारको रहेको हुनुपर्दछ ।
विकासको लागि अधिनायकवाद नै चाहिन्छ भन्ने मानसिकता व्याप्त रहेको हाम्रो जस्तो समाजले लिवरटेरियन पटर्नलिज्म्को महत्व नबुझ्न सक्ला । तर, समाजले बुझ्नु पर्ने कुरा के हो भने विकासका लागि व्यक्तिगत स्वतन्त्रता अपरिहार्य भएर मात्र यस अवधारणाको महत्व उच्च रहेको होइन । वास्तवमा व्यक्तिगत स्वतन्त्रता त आफैँमा एउटा गन्तव्य, एउटा अन्त्य, एउटा साध्य हो, फगत कुनै साधन होइन !
तसर्थ, २१ औँ शताब्दीमा प्रजातन्त्र र खुला विचारधारा मौलाउँदै गएमा अर्थनीतिको क्षेत्रमा लिवरटेरियन पटर्नलिज्म्को अवधारणाले समेत प्रमुखता पाउँदै जाने अनुमान लगाउन सकिन्छ ।

३. नियममा आधारित अर्थनीति

कुनै पनि मुलुकको अर्थनीति राज्य वा नियामक निकायको तजबिजीमा आधारित नभई नितान्त लिखित नियमहरुमा आधारित हुनुपर्छ अर्थात अर्थनीति नन् डिस्क्रेसनरी हुनुपर्छ भन्ने अवधारणा प्रस्ताव गर्ने प्रमुख अर्थशास्त्रीहरुमा मिल्टन् फ्रिड्मन्को नाम सम्भवत् प्रथम श्रेणीमा आउँछ । सन् १९२९–१९३९ को विश्वव्यापी चरम मन्दीका लागि अमेरिकाको केन्द्रीय बैंक (फेडरल रिजर्भ) को समय अनुकुल नरहेको सङकुचनमुखी मौद्रिक नीतिलाई मुख्य रुपमा दोषी ठहराउने फ्रिडमन्को मौद्रिक नीतिसम्बन्धी प्रस्ताव अत्यन्त सरल छ । के रुल को नामले प्रख्यात उनको मौद्रिक नीतिसम्बन्धी प्रस्तावको पृष्ठभूमि के हो भने समग्र अर्थतन्त्रलाई अत्यन्तै प्रभाव पार्ने मौद्रिक नीति तजबिजी अधिकार सहितको केन्द्रीय बैंकरहरुको हातमा सुम्पिनु सही हुँदैन । तसर्थ, मुद्रा प्रदायको वृद्धिदर (अर्थात अर्थतन्त्रको ब्याजदर) लाई स्पष्ट नियम अनुसार मात्र सञ्चालन गर्नुपर्छ । यस्तो नियम कुनै स्थिर वृद्धिदर हुनसक्छ जस्तै कि कुल ग्राहस्थ उत्पादनको वृद्धिदर (के प्रतिशत) अनुसारको मुद्रा प्रदायको वृद्धिदर ।
सन् २००७ को विश्वव्यापी वित्तीय सङ्कट, सन् २०२० को कोरोना महामारी लगायतका श्रृङ्खलाहरुबाट के उजागर भएर आएको छ भने संसारभरिका केन्द्रीय बैंकहरुको मुख्य मकसद मुद्रास्फिति नियन्त्रण नै भए तापनि आर्थिक एवम् वित्तीय सङ्कटको बखत अर्थतन्त्रलाई धरासायी हुनबाट जोगाउनका लागि तथा अर्थतन्त्रलाई पुनः चलायमान बनाउनका लागि समेत राज्यका अन्य निकायहरुको तुलनामा केन्द्रीय बैंकहरु नै बढी सक्षम छन् । यस क्षमताको मुख्य कारण हो वर्तमान् युगमा व्याप्त रहेको वित्तीय पुँजीवाद र सोको पृष्ठभूमिमा आर्थिक मामलाहरुमा कायम हुन जाने ब्याजदरको प्रमुखता ।
यस परिप्रेक्ष्यमा फ्रिडमन्ले १९७० को दशकमा प्रस्ताव गरेको रुल बेस्ड मनिटरी पलिसी अर्थात नितान्त रुपमा नियममा आधारित मौद्रिक नीति (वास्तवमा समग्र अर्थनीति) को महत्व झनै प्रगाढ भएर आएको देखिन्छ ।
विश्वका प्रमुख अर्थतन्त्रहरु र तिनको दिशा निर्धारण गर्ने तत् केन्द्रीय बैंकहरुका केही अभ्यासहरु हेर्ने हो भने पनि के देखिन्छ भने वर्तमान युग फ्रिडमन्ले बताएको मार्गमा नै हिडँने प्रयास गरिरहेको छ । उदाहरणको लागि संयुक्त राज्य अमेरिका, बेलायत, युरोपेली युनियन लगायतका मुलुक÷क्षेत्रहरुमा मौद्रिक नीतिको कार्यान्वयनमा कुनै पनि तजबिजी निर्णयको आवश्यक्ता रहेको देखिदैँन अर्थात उक्त मुलुकका केन्द्रीय बैंकहरुले तय गरेको मौद्रिक नीतिदर (अक्सर अल्पकालीन अन्तरबैंक ब्याजदर) अनुसार वाणिज्य बैंकहरुको केन्द्रीय बैंकमा रहेको नगद मौज्दातमा ब्याज प्रदान गर्ने कार्य अथवा उक्त ब्याजदरमा ऋण माग गर्ने वाणिज्य बैंकहरुलाई अल्पकालीन ऋण प्रदान गर्ने कार्य स्वचालित रुपले (कुनै मानवीय हस्तक्षेप बिना) सञ्चालन भइरहेको देख्न सकिन्छ ।
अर्थतन्त्र सञ्चालन जस्तो बृहत एवम् जटिल मामलामा तजबिजी निर्णय एवम् सूक्ष्म व्यवस्थापनभन्दा स्पष्ट नियममा आधारित निर्णय प्रणाली र÷वा (महान अर्थशास्त्री एवम् विचारक फ्रिड्रिक हायाकको शब्दावलीमा) स्पन्टेनियस् अडरमा आधारित निर्णय प्रणाली नै उपयुक्त हुने कुरामा २१ औँ शताब्दीसम्मका अनुभवहरुलाई केलाउँदा कुनै द्विविधा नहुनु पर्ने हो ।
यस कारण पनि नियममा आधारित अर्थनीति र निर्णय प्रणाली २१ औँ शताब्दीमा थप प्रमुख हुँदै जान्छ भन्ने कुराको अनुमान लगाउन सकिन्छ ।

४. नियो माक्र्सिजम्

हालसम्म चर्चा गरिएका सबै उदयीमान अवधारणाहरु पुँजीवाद र खुला बजार विचारधारासँग मात्र सम्बन्धित रहेका छन् । तर, समाजको आर्थिक सङ्गठन पुँजीवादी मोडल अनुरुप मात्रै हुन्छ अथवा हुनुपर्छ भन्ने पनि छैन । करीब पुँजीवाद जतिकै लामो इतिहास बोकेका साम्यवाद र समाजवाद पनि यस मामलामा वैकल्पिक आर्थिक मोडलको रुपमा रहँदै आएका छन् ।
साम्यवादको इतिहास केलाउँदा यस अवधारणाको दुई मुख्य आयामहरु रहँदै आएको पाउन सकिन्छ । एक, उत्पादनको मुख्य कारक अर्थात श्रम र उत्पादनका अन्य कारकहरु (पुँजी र जमिन) को स्वामित्व फरक व्यक्तिहरुसँग हुने अवस्थाको उन्मूलन गर्नु र दुई राज्यले अर्थतन्त्र सञ्चालनको सम्पूर्ण जिम्मा लिई पुँजीवादमा अन्तरनिहित रहने आर्थिक सङ्कटहरु आउन नदिनु ।
तर २१ औँ शताब्दीसम्मका अधिकांश साम्यवादीहरु साम्यवादको यही दोस्रो (सामान्यतया गलत) आयाममा रुमल्लिरहेको पाउन सकिन्छ । तसर्थ, हालसम्म व्यवहारमा देखिएको अधिकांश साम्यवादी व्यवस्था अधिनायकवाद र स्टेट क्यापिटलिजम्मै सीमित रहेको समेत पाउन सकिन्छ ।
तर, २१ औँ शताब्दीका दुई प्रमुख साम्यवादी हस्तीहरु – नोम् चम्स्की र यानिस भारुफाकिस – भने साम्यवादको पहिलो आयामलाई बढी महत्व दिन्छन् । यी दुवैले साम्यवादको वैकल्पिक मोडल पेश गरेका छन् जसको मुख्य गरी दुई विशेषताहरु रहेको देखिन्छ । एक, ज्यालामा आधारित श्रमको अन्त्य र दुई कार्यरत श्रमिकहरुको मात्र (निजी) स्वामित्व रहने र स्थानीय समुदाय एवम् कार्यरत श्रमिकहरुको सामुहिक निर्णय बमोजिम सञ्चालित हुने प्रकारको व्यावसायिक मोडल ।
चम्स्कीले ज्यालाका लागि श्रम गर्ने प्रथा हाल व्याप्त रहेको भए तापनि यसको इतिहास केलाउँदा यो पहिले सामान्य नरहेको, यसको तुलना अक्सर दासतासँग गर्ने गरिएको र पुँजीवादीहरुको एकोहोरो प्रचार (प्रोपगान्डा) पश्चात मात्रै यो अवधारणा मूलधारमा आएको तर्क प्रस्तुत गरेका छन् ।
हाकिम रहित कार्य वातावरणको सन्दर्भमा भारुफाकिस भन्छन् कि गुगल, भाल्भ कर्पाेरेसन (कम्प्युटर गेम बनाउने अमेरिकी कम्पनी) जस्ता कम्पनीहरुमा आज पनि कोही कसैको हाकिम र कोही कारिन्दा हुँदैन (भाल्भमा शत प्रतिशत कार्य नै यसरी सम्पन्न हुन्छन्) । यहाँ कसले के कार्य गर्ने भन्ने कुरा कसैले कसैलाई भन्दैन्, स्वतः स्र्फूत निर्माण भएका स–साना टोलीहरुले नै कार्यविभाजन गर्छन् र आवश्यक निर्णयहरु लिन्छन् । अर्थात यहाँ स्पन्टेनियस अर्डर र एनार्काे सिन्डिक्लिज्म्ले काम गरिरहेको देखिन्छ ।
त्यसैगरी एव्सेन्टी ओनरशिप हुने (श्रमिक र मालिक छुट्टा छुट्टै हुने) जोइन्ट स्टक कम्पनीको अवधारणा आज सामान्य रहकोे भए तापनि विभिन्न कालखण्डका पुँजीवादकै सर्वाेत्कृष्ट हस्तीहरु (जस्तै १९ औँ शताब्दीमा एडम् स्मिथ र २० औँ शताब्दीमा जोसेफ सम्पिटर) ले जोइन्ट स्टक कम्पनी (एव्सेन्टी ओनरशिप) पुँजीवादको एउटा दुखद र अनुत्पादक अवधारणा भएको कुरा प्रष्टैसँग उल्लेख गरेको तर्क भारुफाकिस प्रस्तुत गर्छन् ।
साथै, आफ्नो कृति अनदर नाउमा भारुफाकिसले एव्सेन्टी ओनरशिप हुने कम्पनीको विकल्पको रुपमा एउटा अत्यन्तै व्यवहारिक मोडल समेत प्रस्ताव गरेका छन् । यस मोडलमा स्थानीय समुदायले आफ्नो क्षेत्रमा रहेका उद्योगहरुको महत्व र कामकारबाहीको निरन्तर रुपमा (सोसल वेलफेयरनेस इन्डेक्समार्फत्) मापन गर्छ ताकि निरन्तर रुपले एउटा निश्चित सीमाभन्दा तल्लो स्तरमा कार्य गर्ने उद्योगहरु कि त बन्दै होउन कि तीनको व्यवस्थापन नयाँ व्यक्तिहरुको हातमा जाओस् । साथै, यस क्रममा शक्तिको केन्द्रीकरण हुने प्रवृतिबाट बच्नका लागि प्रत्येक पटक सिक्का उछालेर (¥याण्डमली डिटरमिन्ड मेथड) सोसल वेलफेयरनेसको मापन गर्ने विज्ञ टोली समुदायभित्रबाट छानिनु पर्छ भनेर समेत भारुफाकिसले प्रस्ताव गरेका छन् ।
हालसम्म साम्यवाद र समाजवादको सन्दर्भमा अधिनायकवादी राज्यको आयामले मात्र बढी प्राथमिकता पाउँदै आएकोमा चम्स्की र भारुफाकिसको नियो माक्र्सिजम्ले साम्यवादको अवधारणामा नयाँ प्राण फुक्न सक्ने ल्याकत राखेको देखिन्छ । तसर्थ, प्रजातन्त्र, स्वतन्त्रता र मानवतासँग बढी तादात्म्यता राख्ने साम्यवादको यो मोडलले २१ औँ शताब्दीमा कमसेकम साम्यवादी विचारधाराका अनुयायीमाझ प्रमुखता पाउँदै जाओस भन्ने कामना समेत उचित छ जस्तो लाग्छ ।

५. एन्टी फ्राजिल

सन् २००७ को विश्वव्यापी वित्तीय सङ्कटपश्चात अमेरिकाका ठूला बैंक र इन्भेष्टमेन्ट कम्पनी (स्याडो बैंक) हरु सँगै समग्र विश्वको अर्थतन्त्र नै धरासायी हुने अवस्था सिर्जना भयो । आर्थिक इतिहास केलाउने हो भने यो कुनै नौलो घटना होइन । वित्तीय पुँजीवाद हावी रहेको मुलुकहरुमा (समग्र पश्चिम क्षेत्र र विशेषगरी अमेरिकामा) हरेक १५ देखि २५ वर्षमा भीमकाय वित्तीय सङ्कट देखा पर्ने प्रवृति सजिलैसँग पाउन सकिन्छ । यसका केही प्रमुख उदाहरणहरु देहाय बमोजिम हुन् ।
सन् १९९८ मा रसियन रुबल सङ्कटसँगै विशाल अमेरिकी हेज् फण्ड लङ टर्म क्यापिटल म्यानेजमेन्टको कङ्गाली र यो एउटा विफलताले संसारभरिका प्रमुख वित्तीय संस्थाहरुको अस्तीत्वलाई नै चुनौती दिने गरी उत्पन्न गरेको सङ्कट । सन् १९८० को दशकमा अमेरिकामा देखा परेका दुई भीमकाय बैंकिङ सङ्कटहरु – सेभिङ्कस् एण्ड लोन क्र्याइसिस् र ल्याटिन अमेरिकी ऋण सङ्कट । सन् १९२९ को ग्रेट डिप्रेसन र सन् १९०७, सन् १८७३, सन् १८५७ र सन् १८३७ मा अमेरिकामा देखा परेका बैंकिङ प्यानिकहरु ।
वित्तीय क्षेत्रमा देखापरीरहने यस्ता सङ्कटहरुको कारण र यीनले समग्र अर्थतन्त्रमा वर्षैँसम्म पार्ने दुष्प्रभाव बारे जन् केनेथ ग्याल्ब्रेथ, पल् क्रुग्मन् लगायतका अर्थशास्त्रीहरुले उत्कृष्ट विवेचना गरेको पाउन सकिन्छ । यस्ता सङ्कटहरुले गर्दा केही निश्चित बैंक, कम्पनी वा व्यक्तिहरु डुबे तापनि समग्र वित्तीय क्षेत्र, अर्थतन्त्र, समुदाय एवम् मुलुकहरुले भने आफुलाई यस प्रकारको दुर्भाग्यबाट बचाउन पूर्वतयारी गर्नसक्ने र अझ गर्नैपर्ने तर्क अर्का उत्कृष्ट अर्थशास्त्री एवम् विचारक नसिम निकलस् तालेबले पेश गरेका छन् । तालेबले यस अवधारणालाई प्रदान गरेको नाम हो एन्टी फ्राजेल ।
एन्टी फ्राजेलको अवधारणाको दुई मुख्य आयामहरु रहेको देखिन्छ । एक, स्किन इन द गेम अर्थात पुँजीवादमा जसले जति जोखिम लिन्छ, परि आएमा सोहि अनुसारकै भरपाइ उसको भागमा पर्नुपर्छ । तालेबले यहाँ इङगित गरेका छन् ठूला बैंक र स्याडो बैंकहरुको स–साना सम्भावित लाभको लागि अधिक जोखिम लिने प्रवृतिलाई र जोखिम साकार भएर आएमा राज्यले यी संस्थाहरुलाई सङ्कटबाट उन्मुक्ति दिने प्रवृतिलाई पनि । यसो भएमा स्वाभाविक रुपमा वित्तीय संस्थाहरुले अनावश्यक जोखिम लिई एकतर्फी (असिमेट्रिक) लाभ लिने कार्य र फलस्वरुप सारा वित्तीय प्रणाली तथा आर्थिक प्रणालीलाई जोखिममा पार्ने कार्य गर्छन् नै ।
एन्टी फ्राजेलको अवधारणाको दोस्रो महत्वपूर्ण आयाम हो टेल रिस्क इभेन्टस् – अर्थात घटी हाल्ने न्यून सम्भावना भएका तर घटी हाले फेरि हदैसम्मको नोक्सान गराउने घटनाहरु– का लागि तयारी । यससम्बन्धी तालेब प्रस्ताव गर्छन् कि विशेषगरी बृहत प्रकारका संस्थाहरु (जस्तै समग्र वित्तीय प्रणाली, राज्य, आदि) ले टेल रिस्क एक्सपोजर लिनै हुँदैन तर केही हदसम्म यस्तो जोखिम अपरिहार्य भएमा फेरि सोका लागि बीमा र÷वा सङ्कटमोचनको पूर्वतयारी सहित बस्नुपर्छ ।
जोखिम लिन सक्ने व्यक्ति एवम् निजी संस्थाहरुको लागि तालेब प्रस्ताव गर्छन् बारबेल रणनीति जसअन्तर्गत आफ्नो लगानीको अधिकांश हिस्सा (मानौँ ९५ प्रतिशत) अति जोखिममुक्त क्षेत्र÷उपकरणहरु (जस्तै अमेरिकी सरकारको ऋणपत्र) मा लगानी गरी बाँकी सानो अंश (मानाँै ५ प्रतिशत) लाई धेरै वटा अति जोखिमयुक्त (तर मुनाफा भइहाले सोही बमोजिम अति मुनाफा हुने) क्षेत्र÷उपकरणहरुमा लगानी गर्न सकिन्छ ।
आर्थिक एवम् वित्तीय सङ्कटले भरिपूर्ण रहेको इतिहासको परिप्रेक्ष्य र झनै मौलाउँदै गएको वर्तमान युगको वित्तीय पुँजीवादको यथार्थमा एन्टी फ्राजेलको अवधारणा धेरै सान्दर्भिक रहेको देखिन्छ र यसर्थ यसले प्रमुखता पाउँदै जाने आँकलन गर्न सकिन्छ ।

६. मोर्डन मनिटरी थियरी

२० औँ शताब्दीमा अर्थशास्त्रका मूलधार सिद्धान्तहरुमध्ये रहने गरी स्थापित हुन गएका सिद्धान्तहरु हुन् केन्द्रीय बैंकको स्वायत्तता तथा यसैसँग सम्बन्धित रहेको मौद्रिक नीतिको प्रशारण संयन्त्रसम्बन्धी अवधारणा । तर मोर्डन मनिटरी थियरी (एमएमटी) ले यिनै स्थापित सिद्धान्तहरुलाई सोझो चुनौती दिइरहेको देखिन्छ ।
हामी सबैले जानेको मौद्रिक नीतिको प्रशारण संयन्त्र के हो भने केन्द्रीय बैंकले मुद्राप्रदायको प्रवाह बढाउँदा वा घटाउँदा मुद्राबजारको ब्याजदर (अल्पकालीन) विपरित दिशामा परिवर्तन हुन्छ अनि अल्पकालीन ब्याजदर मध्यकालीन एवम् दीर्घकालीन ब्याजदरहरुसँग सम्बन्धित रहेको हुनाले यी ब्याजदरहरुमा पनि सोही बमोजिम प्रभाव पर्छ । फलस्वरुप अर्थतन्त्रमा विभिन्न प्रकारका उपभोग एवम् लगानीका निर्णयहरुमा विभिन्न माध्यमबाट (इन्टरेस्ट रेट च्यानल, एसेट प्राइस च्यानल, क्रेडिट च्यानल, आदि) प्रभाव पर्न जान्छ अनि अन्ततः मुद्रास्फिति एवम् उत्पादनको वृद्धिदरमा समेत प्रभाव पर्छ ।
एमएमटीले प्रशारण संयन्त्र बारे पूर्ण रुपले बेग्लै व्याख्या गर्छ । पहिले त यो नवीन सिद्धान्तले केन्द्रीय बैंकको मौद्रिक नीतिले सोझै प्रभाव पार्न सक्ने मुद्रा बजारको सानो अशं (अन्तर बैंक ब्याजदर) ले समग्र अर्थतन्त्रकै ब्याजदरलाई प्रभाव पार्न सक्छ भन्ने कुरामै सन्देह प्रकट गर्छ । अर्थतन्त्रलाई दिशा प्रदान गर्नको लागि राज्य (वित्त नीति) को भूमिकालाई प्रधान मान्दै यो सिद्धान्तले राज्यले नै अर्थतन्त्रलाई चलायमान बनाउनको लागि खुलेर खर्च गर्नुपर्छ भन्ने कुरा प्रस्ताव गर्छ । खर्च गर्न सक्ने क्षमताको सन्दर्भमा राज्यको लागि खासै कुनै सीमा (राजश्वको आकारले तय गर्ने) नरहेको तर्क गर्ने यो सिद्धान्तले के प्रस्ताव गर्छ भने बजारमा मुद्राप्रदाय (तसर्थ ब्याजदर) निर्धारण वास्तवमा वित्त नीतिले नै बजेट खर्च (मुद्राप्रदाय बढाई) र राजश्व सङ्कलन (मुद्राप्रदाय सङ्कुचन गरी) मार्फत् गर्दछ ।
केही कुराहरुमा गम्भीर त्रुटी रहेको देखिए तापनि लेखकको विचारमा एमएमटीका सबै आयामहरुलाई यत्तिकै नकारीहाल्न पनि सकिँदैन । संसारभरि पपुलिजम् फैलिरहेको परिप्रेक्ष्यमा यो सिद्धान्तले समेत प्रमुखता पाउँदै जाने सम्भावनालाई नकार्न
सकिँदैन ।

अन्त्यमा

कुनै कालखण्डमा मूलधारमा रहेका सबै विचारधारा एवम् अवधारणाहरु समयसँगै फिका भएरै जान्छन् भन्ने
होइन । तर, यदि कुनै विधा वास्तवमै वैज्ञानिक छ अर्थात कट्टरपन्थी छैन भने उक्त विधाका स्थापित विचारधारा एवम् अवधारणाहरुले निरन्तर रुपमा आफुलाई सिद्ध गरिरहनु पर्ने आवश्यक्ता हुन्छ नै । तसर्थ, स्थापित विचारधाराहरु प्रतिस्थापन हुने सम्भावना सदैव प्रबल रही नै रहन्छ किनकी कुनै पनि सिद्धान्त हजार पटक सही देखिएको भए तापनि गलत साबित हुनका लागि एक पटक नै काफी हुन्छ । दर्शन (एपिस्टमलजि) मा यसलाई फल्सिफिकेसन् भनिन्छ ।
२१ औँ शताब्दीमा अर्थशास्त्रका कुन स्थापित सिद्धान्तहरु फल्सिफाइड हुन्छन् र यीनलाई कुन नयाँ वा पुराना सिद्धान्त एवम् अवधारणाहरुले प्रतिस्थापन गर्छन् भन्ने कुराले समग्र समाज तथा विश्वमै ठूलो असर पार्छ । ठ्याक्कै अनुमान लगाउन मुश्किल भए पनि यो प्रक्रियालाई नजिकबाट नियाल्न यस विधामा रुची राख्नेहरुका लागि रोचक नै रहने देखिन्छ ।

पहिलो पटक नेपाल बैंक लिमिटेडको ८७ औँ वर्षगाँठमा प्रकाशन गरिएको वार्षिकोत्सव विशेषाङ्क २०८० मा प्रकाशित भएको ।