काठमाडाैं – नेपाल राष्ट्र बैंकले ७ सय ५३ वटै स्थानीय तहमा वाणिज्य बैंकहरुको सेवा विस्तार भएको जनाएको छ । केन्द्रीय बैंकले मंगलबार एक वित्तीय सन्देश जारी गर्दै सबै स्थानीय तहमा सेवा विस्तार भएकाले सर्वसाधारणलाई इजाजत पत्रप्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सुरक्षित बैंकिङ्ग कारोबार गर्न आग्रह गरेको छ ।
केन्द्रीय बैंकद्वारा जारी सन्देशमा भनिएकाे छ,’देशमा वित्तीय पहुँच अभिवृद्धि गर्दै सुदृढ, समावेशी र दिगो बैंकिङ्ग प्रणाली निर्माण गर्ने नेपाल राष्ट्र बैंकको पहलस्वरूप मिति २०८१/१०/२८ गते बझाङ जिल्लाको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक लिमिटेडको शाखा विस्तार भएसँगै अब देशका ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ ।’
२०८१ पुस मसान्तसम्ममा नेपालमा वाणिज्य बैंकहरूको शाखा संख्या ५,०७८ र विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थासमेत गरी बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार ५ सय ४५ पुगेको छ । यसका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रत्येक शाखाले औसतमा २,५२६ जनसंख्यालाई सेवा प्रदान गरिरहेको छ ।
यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखाहरूमार्फत बचत र कर्जाको कारोबारका साथै डिजिटल बैंकिङ्ग जस्ता आधुनिक उपकरणमार्फत बैंकिङ्ग सेवा प्रवाह भइरहेको छ ।



About Us
प्रतिक्रिया