काठमाडौं – आईएमई समूहको आईएमई पे र वल्र्ड लिंक समूहको लगानी रहेको खल्ती डिजिटल वालेटबीच मर्जर सम्झौता भएको छ । आईएमई समूहले दिएको जानकारीअनुसार आईएमई पे र खल्ती वालेटले आज मर्जर सम्झौता गरेर नेपाल राष्ट्र बैंकमा मर्जर सम्झौताको सूचना पठाएका हुन् ।
यससँगै, विगत लामो समयदेखि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुबीच सिमित रहेको मर्जर सम्झौता वालेटसम्म पुगेको छ । यो नेपाली इतिहासमा नै पहिलो मर्जर सम्झौता हो । दुई संस्थाबीच मर्जर सम्झौता भएर नेपाल राष्ट्र बैंकमा मर्जरको सूचनासहितको निवेदन लिएर पुगेका हुन् ।
यी दुई कम्पनीको मर्जर सम्झौतापछि राष्ट्र बैंकमा दिएको निवेदन स्वीकृत भएपछि नेपाली वालेट कम्पनीहरुबीच पहिलो मर्जर सम्झौता सम्पन्न हुनेछ । यससँगै, सेवाग्राहीको आधारमा यो कम्पनी नेपालको सबैभन्दा ठूलो वालेट कम्पनी समेत बन्ने बताइएको छ ।
हाल नेपालमा पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) कम्पनीहरुको संख्या २६ छ । यी दुईको मर्जर सम्झौता केन्द्रीय बैंकले स्वीकृत गरेपछि २४ मा झर्नेछ । यस्तै, ९ वटा पेमेन्ट सर्भिस अपरेटर कम्पनी सञ्चालनमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।
आईएमई पेको १० लाख प्रयोगकर्ता छन् भने खल्ती वालेटको ५० लाख प्रयोगकर्ता छन् । यो संख्या गुगल प्लेस्टोरमा भएको डाउनलोडका आधारमा लिइएको हो । यी दुईको प्रयोगकर्ता ६० लाख पुग्नेछ भने इसेवाको प्रयोगकर्ताको संख्या (डाउनलोड)का आधारमा १ करोड छन् ।
प्रतिक्रिया