धौलागिरी लघुवित्त वित्तीय संस्थाद्वारा अशक्त महिलालाई ह्वीलचेयर प्रदान

धौलागिरी लघुवित्त वित्तीय संस्थाद्वारा अशक्त महिलालाई ह्वीलचेयर प्रदान


काठमाडाैं- धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत मालिका–५, पञ्चासेकी एक अशक्त महिलालाई ह्वीलचेयर प्रदान गरेको छ। शनिबार संस्थाका पदाधिकारीहरू अशक्त महिलाको घरमै पुगेर ह्वीलचेयर हस्तान्तरण गरेका हुन्।

ह्वीलचेयर वितरण कार्यक्रममा संस्थाका अध्यक्ष श्रृजना थापा, सञ्चालक रेशमलाल सापकोटा, पूर्वसञ्चालक कृष्णराज शर्मा, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शिबराम जोशी, साथै स्थानीय समाजसेवी र बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत शिबराम जोशी ले संस्थाले सदस्यहरूको हितलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए। उनले धौलागिरी लघुवित्तले वित्तीय सेवा मात्र नभई समुदायका विशेष आवश्यकता भएका व्यक्तिहरूलाई समेत सहयोग पुर्याउँदै आएको उल्लेख गरे।

संस्थाले यही फागुन १० गते वार्षिक साधारण सभा गर्ने तयारी गरिरहेको जानकारी दिएको छ। लघुवित्त सेवा विस्तार, संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधि, र भविष्यका योजनाहरू साधारण सभामा छलफल गरिने जनाइएको छ।

सामाजिक सेवाका यस्ता कार्यहरूले लघुवित्त संस्थाहरूको समुदायप्रति उत्तरदायित्व बहन गर्न योगदान पुग्ने विश्लेषकहरू बताउँछन्। धौलागिरी लघुवित्तले आगामी दिनमा पनि सामाजिक सेवा र वित्तीय समावेशीकरणलाई प्राथमिकतामा राख्ने जनाएको छ।