कर्णाली विकास बैंकको अनुसन्धानमा सीआईबी: फरार व्यक्ती खोज्दै, राष्ट्र बैंकलाई सघाउँदै


काठमाडौं – एक अर्ब रुपैयाँभन्दा बढी अपचलन तथा ऋण प्रवाहमा घोटाला गरेको पाइएपछि कर्णाली विकास बैंकलाई केन्द्रीय बैंकले ‘टेकओभर’ गरेर थप अनुसन्धान गर्दैछ। बैंक सञ्चालक समिति र व्यवस्थापकले नियोजितरुपमा बैंकको रकम अपलन तथा ऋण प्रवाहमा घोटाला गरेको पाइएपछि राष्ट्र बैंकले पुस १० गते ‘टेकओभर’ गरेको थियो ।

प्रारम्भिक चरणमा बैंकको १ अर्ब २६ करोड रुपैयाँ अपचलन भएको तथ्यांक निकालिएको थियो । तर, अनुसन्धानका क्रममा योभन्दा बढी रकम अपचलन भएको हुनसक्ने निष्कर्षमा राष्ट्र बैंकको टोली पुगेको छ । टोलीले यही साता बैंकमा भएको अपचलन र घोटालाको वास्तविक विवरण सार्वजनिक गर्नेछ ।

पुस १० गते केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा टोली ‘फिल्ड’मा खटाएको थियो । खतिवडाको नेतृत्व रहेको समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप-निर्देशक विष्णुकुमार विश्वकर्मा र कानून महाशाखाका उप-निर्देशक जुगल किशोर कुशवाहा समेत छन् ।

‘टेकओभर’पछिको दुई महिनाको अवधिमा बैंकको दायित्व ४ अर्ब ६० करोड रुपैयाँ रहेको पाइएको छ । यस्तै, बैंकको सम्पत्ति ३ अर्ब ८० करोड हाराहारी रहेको पाइएको छ । यसबाहेक, केन्द्रीय बैंकबाट खटिएको व्यवस्थापन समूहले २२ करोड रुपैयाँभन्दा बढी निक्षेप फिर्ता गरिसकेको छ ।

फरार व्यक्ती खोज्दै सीआईबी

नेपाल राष्ट्र बैंकले प्रारम्भिक अनुसन्धानपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोग मागिसकेको छ । व्यवस्थापन समूहको चाहनाअनुसार केन्द्रीय बैंकले पत्र लेख्दै सीआईबीलाई अनुसन्धानमा संलग्नता गराएको थियो । केन्द्रीय बैंकको पत्रपछि सीआईबीको टोली समेत अनुसन्धानमा खटेर व्यवस्थापन समूहलाई सघाइरहेको सीआईबी प्रवक्ता सुधीर राज शाहीले जानकारी दिए ।

बैंकिङ्ग समाचारसँगको कुराकानीमा उनले भने, ‘हाम्रो टोलीले केन्द्रीय बैंकको अनुसन्धानमा सघाइरहेको छ । अनुसन्धानका क्रममा आउने अन्तिम विवरणपछि मुद्दामामिलाको विषय अघि बढ्नेछ ।’ प्रवक्ता शाहीका अनुसार राष्ट्र बैंकले ‘टेकओभर’ गर्नुअघि नै अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, पूर्व कार्यकारी अधिकृत लगायत ७ जना मोबाइल फोन अफ गरेर फरार भइसकेका थिए ।

सीआईबीको संलग्नतापछि पनि फरार बनेका व्यक्तीहरु सम्पर्कमा आइसकेका छैनन् । यद्यपि, बैंकको रकम अपचलन, कमजोर धितोमा ऋण प्रवाह र विना धितो नै ऋण प्रवाह लगायतका काममा संलग्नको सूची अझै बढ्न सक्ने अनुमान सीआईबी टोलीले गरेको छ । यद्यपि, यसबारे विस्तृत विवरण यसै साता आउने र यसपछि थप प्रक्रिया अघि बढाउने शाहीको भनाई छ ।