४ लाख ५० हजार शेयरहोल्डर्स भएको ग्लोबल आईएमई बैंक चन्द्र ढकालको मात्रै हो त ?


यतिबेला जताजतै ४ लाख ५० हजार शेयरहोल्डर्स भएको ग्लोबल आईएमई बैंक डुब्दैछ भन्ने हल्ला सुनिन्छ । तपाईँले पनि विभिन्न सामाजिक सञ्जालमा यस्तै हल्ला सुन्नु भएकै होला । चन्द्रप्रसाद ढकाल अध्यक्ष रहेको यो बैंक साँच्चै डुब्दैछ त ?

यो हल्ला चल्नुको मुख्य कारण हो, ताप्लेजुङको पाथीभरामा बन्ने केबलकारको विवाद र मुख्य लगानीकर्ताकारुपमा आईएमई समूह र यसका अध्यक्ष चन्द्रप्रसाद ढकाल हुनु ।  तर, बाहिर चलेको हल्लाअनुसार ग्लोबल आईएमई बैंक ढकालको मात्रै हो त ? उत्तर हुन्छ होइन । हाल बैंकको कूल चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५२ हजार ६६७ रुपैयाँ छ ।

बैंकको शेयर अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ छ । यसको मतलब कम्पनीले कूल ३८ करोड ११ लाख ५८ हजार कित्ता शेयर जारी वा भनौँ बिक्री गर्नु हो । यो शेयर संस्थापक समूह, कम्पनीका अन्य लगानीकर्ता र सर्वसाधारणमा छरिएको छ ।

बैंकको ५१ दशमलव २४ प्रतिशत शेयर संस्थापक समूहसँग र ४८ दशमलव ७४ प्रतिशत शेयर सर्वसाधारणमा छरिएको छ । तर, कूल शेयरमध्ये चन्द्रप्रसाद ढकालको कूल शेयर ९० लाख ५६ हजार ७५ कित्ता अर्थात् ९० करोड ५६ लाख ७ हजार ५०० रुपैयाँ मात्रै छ । जुन कूल शेयरको २ दशमलव ३६ प्रतिशत मात्रै हुन आउँछ ।

यसको मतलब बैंकमा चन्द्र ढकालको तुलनामा सर्वसाधारणको कति हो कति गुणा बढी शेयर वा पैसा लगानी छ। यसैले, ग्लोबल आईएमई बैंक चन्द्र ढकालको मात्रै हुँदै होइन । यहीकारण, कथमकदाचित बैंक डुबिहाले सबैभन्दा पहिला सर्वसाधारण नै डुब्छन् ।