फागुनमा बैंक तथा वित्तीय संस्था ८ दिन बन्द रहने

फागुनमा बैंक तथा वित्तीय संस्था ८ दिन बन्द रहने


काठमाडौं – फागुन महिनामा ८ दिन बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने भएका छन् । अन्य सार्वजनिक बिदा र शनिबारसहित आजबाट सुरु भएको फागुनमा बैंकहरुले २१ दिन सेवा दिने भएका हुन् ।

२९ काे महिना फागुनमा सार्वजनिक बिदा ४ दिन परेको छ भने शनिबार पनि ४ दिन नै रहेको छ । यस्तै, २४ गते भने अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिदा भएपनि उक्त दिन शनिबार परेका कारण १ दिनको बिदा घटेको छ ।

यद्यपि, शनिबार तथा अन्य सार्वजनिक बिदाका दिन सरकारी कार्यालय, शेयर बजार, बीमा कम्पनीहरू लगायतका संस्थाहरू पूर्ण रुपमा बन्द भएपनि वाणिज्य तथा विकास बैंकहरुले भने आंशिकरूपमा सेवा दिइरहेका हुन्छन् । अधिकांश बैंकहरुले पूर्णरुपमा सेवा नदिए पनि अनुकूलताअनुसार सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै विभिन्न शाखामार्फत निश्चित समय तोकेर सेवा दिइरहेका हुन्छन्। 

फागुनमा कुन दिन बन्द रहन्छन् बैंक ?
७ गते (राष्ट्रिय प्रजातन्त्र दिवस)
१४ गते (महाशिवरात्रि)
१६ गते (ग्याल्पो ल्होसार)
२९ गते (फागु पूर्णिमा) होली
४ दिन शनिबार (३, १०, १७ र २४ गते)

बैंकहरुको कार्यालय समय वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म रहन्छ। यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म रहन्छ । शुक्रबारको हकमा भने १० बजदेखि १ः३० बजेसम्म बैंक खुल्ने बैंकले जनाएको छ । राष्ट्र बैंकको कार्यतालिका अनुसार २०८१ सालमा जम्मा ३७ दिन बैंक बन्द रहनेछन् ।

यसमध्ये प्रदेश सरकारले वर्षभरि आ–आफ्नो प्रदेशमा बढीमा ६ दिनसम्मको सार्वजनिक बिदा दिन पाउने व्यवस्था गरिएको छ। यदि ६ दिनभन्दा बढी बिदा दिन परे प्रदेश र काठमाडौं उपत्यकाका तीन जिल्लाको हकमा गृह मन्त्रालयले निर्णय गरेबमोजिम हुने राष्ट्र बैंकले जनाएको छ।