काठमाडौं – नेपाल बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा अनुसन्धान अघि बढाएको छ । सेवाग्राहीलाई ऋण प्रवाह गर्ने क्रममा ‘सेटिङ’मार्फत ‘कमिसन’ लिने गरेको आरोपपछि अध्यक्ष डा. अधिकारीमाथि अख्तियारले छानबिन अघि बढाएको हो ।
अध्यक्ष अधिकारीमाथि कमिसन लिएको आरोप र विवरणसहित अख्तियारमा उजुरी परेको थियो । सो उजुरीपछि प्रारम्भिक चरणको छानबिनका क्रममा धेरै तथ्य मिलेपछि अख्तियारले थप अनुसन्धान अघि बढाएको हो । अनुसन्धानका क्रममा ऋण प्रवाह गर्ने क्रममा अध्यक्ष डा. अधिकारीले सेवाग्राहीसँग कमिसन लिने गरेको तथ्य खुल्दै गएको छ ।
अध्यक्ष डा. अधिकारीका चालकको बैंक खातामा अस्वाभाविक ३० लाख रुपैयाँसम्म भेटिएको छ । सामान्य चालकको खातामा यति ठुलो रकम हुनु असामान्य भएको अख्तियारको भनाई छ । यहीकारण, अध्यक्ष अधिकारीमाथि कमिसनको आरोपमा अनुसन्धान गर्न आयोगलाई थप सहज भएको छ ।
बैंकका अध्यक्षकारुपमा अधिकारी २०८० को असोजमा नियुक्त भएका थिए । अधिकारीमाथिको अनुसन्धानबाट थप तथ्य खुलेमा बैंकका अन्य उच्च तहका कर्मचारीतर्फ समेत अनुसन्धानको सुई घुमाउने दाउमा अख्तियार अनुसन्धान आयोग छ ।
प्रतिक्रिया