नारायणी डेभलपमेन्ट बैंक अब नयाँ स्थान र भवनबाट सञ्चालनमा आउने


काठमाडौं –  नारायणी डेभलपमेन्ट बैंकले अब आफ्नै भवनबाट सेवा दिने भएको छ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालयलाई चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १० स्थित वाइपास रोड, जिल्ला सहकारी संघ लिमिटेडको नवनिर्मित भवनमा स्थानान्तरण गरेको छ ।

केन्द्रीय कार्यालय रत्ननगर नगरपालिका वडा नं.–०१, बकुलहर, टाँडी, चितवनमा राखी चितवन जिल्लालाई आधार बनाई चितवनको मुख्य मुख्य पाँच स्थानमा (टाँडी, यज्ञ पुरी, भरतपुर, नारायणगढ र पर्सा) शाखा कार्यालयहरू खोली आफ्नो बैंकिङ्ग कारोबार सञ्चालन गर्दै आइरहेको थियो ।

यस बैंकले आधुनिक बैंकिङ्ग प्रणालीमा प्रयोग हुने सुविधाहरूको प्रयोग गर्दै आफ्नो कारोबारलाई चुस्त, दुरुस्त र अझ सर्वसुलभ बनाउने अभिप्रायले केन्द्रीय कार्यालय चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं १० मा स्थानान्तरण गरेको हो । बैंकले यस निर्णय आफ्नो २२ औं वार्षिक साधारण सभाले पारित गरेको थियो ।

चितवनको व्यापारिक केन्द्रको रूपमा विकसित भरतपुर महानगरपालिका वडा नं १० वाइपास रोड, स्थित जिल्ला सहकारी सघं लिमिटेडको आधुनिक नवनिर्मित भवनमा आज माघ २७ गतेबाट स्थानान्तरण भई हाकिम चोकस्थित शाखा कार्यालय समेत एकैसाथ सेवा शुभारम्भ गराएको हो ।