काठमाडौं – नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले पाथीभरा केबुलकारको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत भएको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै कार्यकारी निर्देशक पौडेलले व्यक्तिगत विषयमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त बैंकलाई जोड्नु गलत भएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ,‘पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंक ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न नहुँदा राम्रो ।’
पछिल्लाे समय पाथीभरा केबुलकारको विवादको विषयमा ग्लोबल आईएमई बैंकविरुद्ध आवाज बाहिरिन थालेका छन् । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालको कम्पनी आईएमई ग्रुपले पाथीभरामा केबुलकार सञ्चालन गर्ने कार्य अघि बढाउँदा स्थानीय र आईएमई ग्रुपबिच विवाद भएको थियो ।
विवादकाबीच स्थानीयले ग्लोबल आईएमई बैंकको शाखा कार्यालय बन्द गराउने भन्दै अभियान सुरु गरेका हुन् । उनीहरूले सामाजिक सञ्जालमा भिडियोहरु पोस्ट गरेसँगै बैंकिङ्ग नबुझेका तर बैंकमा बचत गरेकाहरू त्रसित बन्न पुगेका छन् ।






About Us
प्रतिक्रिया