नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ३८औं वार्षिक साधारण सभा आह्वान


काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३८औं साधारण सभा आह्वान गरेको छ । माघ २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी फागुन १५ गते साधारण सभा आह्वान गरेको हाे । सभा काठमाडौंको प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले गत आवको लागि शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । साविक नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले हालसम्म शेयरधनीलाई कुनै लाभांश दिएको छैन।

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको गत असारमा समाप्त भएको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ ।

बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेड र एनआइएमबि स्टक मार्केट्स लिमिटेड समेतको आव २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पनि साधरण सभाले पारित गर्नेछ । यसैगरी, सभामा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षण नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गरिने पनि बैंकले जनाएकाे छ ।

त्यस्तै, सभामा साधारणले नियमनकारी निकायबाट कुनै संशोधन वा परिवर्तन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि बैंकले माघ २९ गतेदेखि साधारण सभासम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।