काठमाडौं – नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्था सञ्चालन मार्गदर्शन, २०८१’ मा लघुवित्त वित्तीय संस्थाहरूले ऋणीहरूको हितमा खर्च गर्ने गरी अलग्गै ग्राहक संरक्षण कोष खडा गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज मंगलबार एक वित्तीय चेतना जारी गर्दै यस विषयमा जानकारी दिएको हो ।
केन्द्रीय बैंकले मिति २०८१/०९/२३ मा लघुवित्त वित्तीय संस्था सञ्चालन मार्गदर्शन, २०८१’ जारी गरेको हो । संस्थाले उक्त कोष सञ्चालनको लागि कार्यविधि तयार गर्नुपर्दछ र उक्त कोषको रकम देहायबमोजिमका कार्यहरूका लागि मात्र उपयोग गर्नुपर्दछ।
लघुवित्त वित्तीय संस्थामा ग्राहक संरक्षण कोषसम्बन्धी यस्ता व्यवस्था छन्ः
१) सम्पूर्ण ऋणीहरूको व्यवसाय सञ्चालन सीप जस्तै: लेखा राख्ने, वित्तीय विश्लेषण गर्ने तालिममा हुने खर्च,
२) उद्यमशीलता विकाससम्बन्धी कार्यक्रममा हुने खर्च,
३) समस्यामा परेका ऋणीहरूको पुनर्स्थापनाका लागि सहुलियत ब्याजदरको कर्जा,
४) ग्राहक तथा ऋणी सदस्यलाई मानवीय सहायता (सुत्केरी स्याहार, औषधी उपचार, काजक्रिया, शिशु स्याहार जस्ता) खर्च,
५) प्राकृतिक प्रकोप, सरुवा रोगबाट सिर्जित महामारीको अवस्थामा दिइने सहयोग,
६) सदस्यका बालबालिकाको भविष्यको लागि छात्रवृत्ति एवम् पाठ्यसामग्री प्रदान गर्दा हुने खर्च,
७) सदस्यहरूको नियमित स्वास्थ्य जाँचको लागि हेल्थ क्याम्प सञ्चालन, नजिकको स्वास्थ्य चौकीहरूमा स्वास्थ्य उपकरण खरिदको लागि हुने खर्च,
८) वातावरणीय संरक्षण जस्तै: वृक्षारोपण जस्ता कार्यमा हुने खर्च ।
प्रतिक्रिया