राष्ट्र बैंककाे नजरमा पछिल्लाे ६ महिनाकाे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

राष्ट्र बैंककाे नजरमा पछिल्लाे ६ महिनाकाे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)


काठमाडाैं – नेपाल राष्ट्र बैंकले चालु आवको ६ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार रेमिट्यान्स बढ्नुका साथै विदेशी मुद्राको सञ्चित बढेको छ।

प्रतिवेदनअनुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई २०८१ पुस मसान्तमा २३ खर्ब १६ अर्ब ८४ करोड रूपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ।

विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो । केन्द्रीय बैंककाअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो । त्यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो ।

विदेशी मुद्रा सञ्चिति २३ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको ६ महिनामा विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशत बढेर २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति थियो।मेरिकी डलरमा यस्तो सञ्चिति पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ । गत असारसम्म १५ अर्ब २७ करोड रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा गत असारमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । ६ महिनामा १२.१ प्रतिशत बढेर पुससम्म २० खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असारमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा पुसमा २७ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । पुससम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ । २०८१ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल ग्राहस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४०.६ प्रतिशत, १२०.३ प्रतिशत र ३२.० प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।