उच्च अंककाे वृद्धिसँगै २ महिनापछि नेप्से २७ सय माथि, कारोबार रकम १३ अर्बको हाराहारीमा

‘बैंकिङ्ग समूह २ दशमलव ५२ अंकले बढ्यो’ 


काठमाडौं – यो साताको पहिलो कारोबारको दिन शेयर बजारमा हरियाली छाएको छ । गत साताको मंगलबारदेखि बन्द भएको बजारमा आज उत्साहजनक वृद्धि देखिएको हो । शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७० अंकको हाराहारीमा बढेसँगै झन्डै २ महिना पश्चात् शेयर बजार २७ सयको बिन्दुमा उक्लिएको छ । यसअगाडि गत मंसिर २७ गते पश्चात् बजार २७ सयको बिन्दुमा पुगेको थिएन। आज नेप्से परिसूचक ६९ दशमलव ८० बढेसँगै बजार २७ सय २७ दशमलव ५८ अंकको बिन्दुमा बन्द भएको छ ।  

आज २०२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९५ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको ३० करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज उन्नती सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भुगोल इनर्जी, ग्रामिण विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज ९ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

सबै सेक्टरका सूचक बढेका छन् । माइक्रोफाइनान्स सबैभन्दा धेरै ४.९२ प्रतिशत बढ्यो । बैंकिङ्ग २.५२, विकास बैंक ३.१५, फाइनान्स १.२९, होटल तथा पर्यटन १.८२, हाइड्रोपावर १.४१, लगानी ३.३८, जीवन बीमा २.४३, उत्पादन तथा प्रशोधन ३.०७, निर्जीवन बीमा ३.७१, अन्य २.६३ र व्यापार समूह १.३१ प्रतिशतले बढेका छन् ।