भारतको बजेट

भारतले नेपाललाई छुट्यायो ७०० कराेड भारु, भुटानलाई २१५० कराेड

भारतले नेपाललाई छुट्यायो ७०० कराेड भारु, भुटानलाई २१५० कराेड


काठमाडौं – भारतले आर्थिक वर्ष २०२५/२६ को बजेटमार्फत नेपाललाई ७ अर्ब भारु विनियोजन गरेको छ । चालू वर्षको बजेट प्रस्तुत गर्दै वित्त मन्त्री निर्मला सीतारमणले नेपाललाई (७०० करोड भारु) ७ अर्ब भारु अनुदान घोषणा गरेकी हुन् ।

भारतले नेपाललाई अनुदानस्वरुप दिने ११ अर्ब रुपैयाँ (करिब) गत वर्षकै हाराहारी हो । गत वर्ष पनि भारत सरकारले नेपालका लागि ७ अर्ब भारु अनुदान विनियोजन गरेको थियो । प्रत्येक वर्ष भारतले नेपाललाई दिने अनुदान बढेपनि यो वर्ष भने स्थिर रहेको हो ।

भारतबाट अनुदान पाउने छिमेकीहरुको सूचीमा भुटान शीर्ष स्थानमा छ । भुटानले यो वर्षपनि सबैभन्दा धेरै अनुदान पाउने भएको हो । सीतारमणले गरेको घोषणाअनुसार २१ अर्ब ५० करोड भारु पाउनेछ । यद्यपी, यो गत वर्षको तुलनामा घटेको हो । गत वर्ष भुटानले २५ अर्ब ४३ करोड भारु पाएको थियो ।

भारतले बजेटमार्फत माल्दिभ्सले पाउने अनुदान भने बढाएको छ । यससँगै अब माल्दिभ्सले भारतबाट ६ अर्ब भारु अनुदान पाउनेछ । गत वर्ष ४ अर्ब ७० करोड भारु पाएको थियो । बजेटबाट भारतले अफगानिस्तानलाई दिने अनुदान दोब्बर बनाएको छ ।

यससँगै, अफगानिस्तानले गत वर्षको बजेटमार्फत ५० करोड भारु पाएपनि यो वर्ष १ अर्ब भारु पाउने भएको छ । यस्तै, भारतले श्रीलंकालाई ३ अर्ब भारु, म्यानमारलाई ४ अर्ब भारु अनुदान घोषणा गरेको छ ।

समग्रमा बजेटमार्फत भारतले छिमेकी र मित्र राष्ट्रहरुलाई अनुदान दिन २०२५/२६ मा ५४ अर्ब ८३ करोड भारु विनियोजन गरेको छ । गत वर्ष ५८ अर्ब भारु विनियोजन गरेको थियो । गत वर्षको तुलनामा अनुदान बजेट घटेको भारतीय समाचार संस्था एनडीटीभीले लेखेको छ ।