कृषि बीमा

कृषि बीमाको बक्यौता दिएकाे सरकारको दाबी, प्राधिकरणको खातामा पठाइयो ८० करोड

कृषि बीमाको बक्यौता दिएकाे सरकारको दाबी, प्राधिकरणको खातामा पठाइयो ८० करोड


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि बालि तथा पशुधन किसानको बीमा रकम भुक्तानी गर्न नेपाल बीमा प्राधिकरणको खातामा ८० करोड पठाइएको बताएका छन् । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भुक्तानी रकम पठाइएको जानकारी गराएका हुन् ।

उनले भने ‘धेरै समयदेखि ३५ जिल्लाका कृषकलाई सरकारले एकसय दिनभित्रै भुक्तानी गरेका छौं ।’ यसैगरी धेरै समयदेखि ३५ जिल्लाका १५ लाखभन्दा बढी दुग्ध किसानलाई सरकार बनेको १०० दिनभित्र भुक्तानी दिएको पनि ओलीले जानकारी दिए ।

धेरै समयदेखि रोकिएको भुक्त्तानीमा ‘७५ हजार उखु किसानहरूले पनि आफ्नो पसिनाको मूल्य पाउन सकेका छन्, जसले वर्षौंदेखि अनुदानको रकम पाएका छैनन्’ उनले थपे ‘करिब ७५ हजार उखु किसान, जसले वर्षौंदेखि आफ्नो पसिनाको मूल्य पाउन सकेका थिएनन्, उनीहरुले पनि आफ्नो अनुदानबापतको भुक्तानी पाइसकेका छन् ।’

यस्तै प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको कानुनसम्मत रुपमा सिर्जना भएको तर भुक्तानी नभएको विगत आर्थिक वर्षदेखिको ३० अर्ब रुपैयाँको दायित्व फरफारक गरेको पनि बताए । राज्यको नीतिअनुसार सरकारले दिनुपर्ने बीमा शुल्कबापतको अनुदान रकम नपाएपछि बीमा कम्पनीले कृषि बीमा गर्न र दाबी भुक्तानी केही समय रोकेका थिए ।

कम्पनीले कृषि बीमा र दाबी भुक्तानी रोक्दा एकातिर किसानले पशुपन्छी तथा कृषि उपजको बीमा गर्न पाएका थिएनन् भने अर्कोतिर दाबी भुक्तानी पाउनबाट पनि वञ्चित थिए । यस्तोमा सरकारले कृषि बीमाबापतको रकम भुक्तानी गर्न ८० करोड रुपैयाँ बीमा प्राधिकरणको खातामा पठाइएको प्रधानमन्त्री ओलीकाे दाबी छ ।