काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरे समक्ष माग गरेका छन् । संसद सचिवालय पुगेका सभापति लामिछानेले सभामुख घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका हुन् ।
उनले निवेदनमा आफूमाथि लागेको फौजदारी कसुरको अनुसन्धान भई अदालतमा अभियोग (मुद्दा) दायर भई अदालतहरुबाट आदेश भई थुनामुक्त भएको व्यहोरासमेत उल्लेख गरेका छन्। यसैगरी पत्रमा उनीमाथि दायर भएको मुद्दा र तिनको पछिल्लो अवस्थाबारे पनि अवगत गराइएको छ।
सभामुख घिमिरेले लामिछानेलाई पुस ८ गते सांसद पदबाट निलम्बित गरेका थिए। लामिछानेविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा तीनवटा कसुरमा मुद्दा दायर भएको थियो। उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा विपक्षी बनाइएको थियो।

प्रतिक्रिया