निक्षेपभन्दा कर्जाको ब्याजदर घट्नेक्रम धेरै, एक वर्षमा कति घट्याे ?


काठमाडौं – पछिल्लो १ वर्षमा बैंकहरुबाट प्रवाह हुने कर्जा र निक्षेप दुवैको भारित औसत ब्याजदर करिब ३ प्रतिशत बिन्दुले घटेको छ । राष्ट्र बैंकले प्रकाशित गरेको मंसिरसम्मको तथ्यांकअनुसार गत आर्थिक वर्षको मंसिर महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्म वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर २.८४ तथा कर्जाको भारित औसत ब्याजदर २.९५ प्रतिशत बिन्दुले घटेको छ ।

निक्षेपको भारित औसत ब्याजदरभन्दा कर्जाको ०.११ बिन्दु बढीले घटेको छ । २०८० मंसिरमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.५३ प्रतिशत रहेकोमा २०८१ मंसिरमा २.८५ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० मंसिरमा २.०६ प्रतिशत रहेकोमा २०८१ मंसिरमा ३.०० प्रतिशत रहेको छ ।

२०८१ मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७८ प्रतिशत कायम भएको छ । २०८० मंसिरमा निक्षेपको भारित औसत ब्याजदर ७.६२ प्रतिशत थियो । त्यसैगरी, २०८१ मंसिरमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.९० प्रतिशत रहेको छ । २०८० मंसिरमा कर्जाको भारित औसत ब्याजदर ११.८५ प्रतिशत थियो ।

साे अवधिमा विकास बैंकहरुको निक्षेप तथा कर्जा दुवैको भारित औसतदर ३ प्रतिशत विन्दुभन्दा धरैले घटेको छ । विकास बैंकहरुको निक्षेपको ब्याजदर ३.०४ प्रतिशत विन्दु तथा कर्जाको ब्याजदर ३.१३ प्रतिशतले घटेको छ । फाइनान्स कम्पनीहरुको निक्षेपको ब्याजदर ३.१५ तथा कर्जाको २.८२ प्रतिशत विन्दुले ओरालो लागेको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विकास बैंकहरुको निक्षेपको ब्याजदर ८.७९ प्रतिशत र वित्त कम्पनीहरुको ९.८५ प्रतिशतबाट क्रमशः ५.७५ प्रतिशत र ६.७० प्रतिशतमा झरेको छ । त्यसैगरी, २०८१ मंसिरमा कर्जाको भारित औसत ब्याजदर विकास बैंकहरुको १०.२६ प्रतिशत र वित्त कम्पनीहरुको ११.४८ प्रतिशत कायम भएको छ । २०८० मंसिरमा विकास बैंकहरुको १३.३९ प्रतिशत र वित्त कम्पनीहरुको १४.३० प्रतिशत रहेको थियो ।