बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा बिटक्वाइन कारोबार नगर्न आग्रह गरेको हो । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपर फण्डका कारोबारीलाई कारवाहीको चेतावनी दिएको छ । यी कार्यहरु गैरकानुनी रहेकोले यी कार्यमा संलग्नलाई कारवाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको हो ।
यस विषयमा २०७४ साउन २९ गते, २०७८ भदौ २४ र गत माघ ९ गते सूचना जारी गरेर कारोबार नगर्न भनेपनि पुनः यो सूचना जारी गरेर सचेत गराएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
‘नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भच्र्युअल करेन्सीले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको र यस बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा भच्र्युअल करेन्सीको कारोबार गैरकानुनी रहेको छ, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरू अन्तरनिहित हुने विषयसमेत स्मरण गराइएको छ,’ सूचनामा उल्लेख गरिएको छ ।
नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरूले कुनै पनि प्रकारका भच्र्युअल करेन्सी पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड कारोबार गरे–गराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धी कार्य गर्ने– गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ
के–हो क्रिप्टोकरेन्सी ?
सरल भाषामा भन्दा क्रिप्टोकरेन्सी एक अभौतिक मुद्रा हो । यसको विकास २००८ मा भएको थियो भने क्रिप्टोको पहिलो मुद्राको नाम विटक्वाइन हो । हाल विटक्वाइन जस्ता मुद्रा विश्वभर करिब दश हजार भन्दा बढी रहेको तथ्याङ्कमा उल्लेख छ ।
क्रिप्टोकरेन्सीको अस्तित्व अनलाइनमा मात्र सिमित रहन्छ । भौतिक रुपमा देख्न र छुन मात्र नभएर यसलाई नियन्त्रण गर्ने कुनै निकायहरु हुदैनन् । त्यसैले पनि यो नेपालमा गैर–कानुनी मानिएको हो । साथै पछिल्लो समय क्रिप्टोबाट ठगिनेको संख्या पनि विश्वमा अचाक्ली बढीरहेको समेत भएकोले पनि यस क्रिप्टोमा लगनी नगर्न नेपाल राष्ट्र बैंकले विज्ञप्ति मार्फत जानकारी गरिरहेको भएपनि क्रिप्टोमा लगानी गर्नेको संख्यामा बने कमी आएको पाईदैन ।
कुनै पनि देशको मुद्राको रेखदेख सम्बधित देशको केन्द्रिय बैकले गर्दछ । नेपालमा पनि नेपाली रुपैंयाको नियन्त्रण नेपाल राष्ट्र बैंकले गर्दछ । तर क्रिप्टोकरेन्सीलाई भने कुनै पनि बैंकहरुले नियन्त्रण गदैन । त्यसैले पनि नेपालमा क्रिप्टोसम्बन्धी कारोबारलाई गैर–कानुनी मानिएको हो ।
नेपालको कानुनमा कस्तो व्यवस्था छ ?
नेपाली कानुन बमोजिम विदेशी विनिमय ऐन, २०१९ ले विदेशी विनिमय कारोबार गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले नेपाल राष्ट्र बैकबाट इजाजतपत्र लिनुपर्ने उल्लेख गरेको छ ।
इजाजतप्राप्त व्यक्तिले बैंकको आदेश पालना नगरे उसलाई नसिहत दिन, कारोबारमा प्रतिबन्ध लगाउन, धरौटी वा जमानत जफत गर्न र इजाजतपत्र रद्द गर्न सकिने व्यवस्था कानुनमा उल्लेख गरिएको छ । प्रक्रिया नपुर्याईकन मालसामान पैठारी र निकासी गर्नेहरुलाई पनि कारेबाहीको व्यवस्था गरिएको छ ।
त्यसबाहेक विदेशी विनिमयसँग सम्बन्धीत कसुरको बिगो रकम एक करोड रुपैंया वा सो भन्दा बढी भए त्यस्ता व्यक्तिलाई अन्य सजायका अतिरिक्त तीन बर्षसम्म जेल सजाय गर्न सकिने व्यवस्था बर्तमान कानुनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया