यूनाइटेड अजोडको डीसीईओ बन्दै रेना रिजाल, यस्ताे छ उनको कार्यअनुभव


काठमाडौं – यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा रेना रिजाल नियुक्त हुने भएकी छिन् । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीकी उप–महाप्रबन्धक (डीजीएम) रहेकी रिजाल यूनाइटेड अजोडकाे डीसीईओ बन्ने भएकी हुन् ।

एक साताभित्र नै रिजाल यूनाइटेड अजोडमा आबद्ध हुने जनाइएको छ । यूनाइटेड अजोडमा विगत ५ महिनादेखि डीसीईओको पद खाली रहेको छ । तत्कालीन डीसीईओ नवीन सुवेदीले गत भदौ २८ गते राजीनामा दिएर कम्पनीबाट बाहिरिएसँगै कम्पनीमा डीसीईओको पद रिक्त भएको थियो ।

बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८० अनुसार कुनै पनि बीमा कम्पनीमा डीसीईओ रिक्त भएको ३ महिनाभित्र पदपूर्ति गरिसक्नु पर्दछ । निर्देशिकाको दफा २८ को उपदफा ३ मा डीसीईओ पद रिक्त भएको ३ महिनाभित्र परिपूर्ति गरिसक्नु पर्ने उल्लेख भएपनि कम्पनीले डीसीईओ पद रिक्त भएको ५ महिनासम्म पनि पदपूर्ति गरेको थिएन ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीएको उपाधि हासिल गरेकी रिजालले २०५७ सालदेखि जागिर सुरु गरेकी थिइन् । रिजालसँग बैंकिङ्ग र बीमा क्षेत्रको २ दशक बढीको अनुभव रहेको छ । तत्कालीन एभरेष्ट इन्स्योरेन्समा अफिसरको रूपमा काम सुरु गरेकी रेनाले ९ वर्षपछि कुमारी बैंकमा सहायक प्रबन्धक पदमा आबद्ध भएकी थिइन् । ११ वर्ष काम गरेपछि उनी कुमारी बैंकबाट बाहिरिइन् ।

करिब ४ वर्षअघि तत्कालीन सानिमा इन्स्योरेन्समा उप महाप्रवन्धक पदमा आबद्ध भएकी रेना सानिमा र जीआईसी मर्ज भएपछि बनेको कम्पनी सानिमा जीआईसीमा पनि सोही पदमा थिइन् ।