ट्रम्पको विदेश नीति

तीन महिनालाई रोकियो अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग

तीन महिनालाई रोकियो अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग


काठमाडौं – अमेरिकी राष्ट्रपतिको पद सम्हाल्न साथ डोनाल्ड ट्रम्पले लिएको विदेश नीतिका कारण नेपाल पनि प्रभावित बनेको छ । रिपब्लिकनका ट्रम्पले यही २० जनवरीबाट अमेरिकी राष्ट्रपतिकारुपमा दोस्रो कार्यकाल सुरु गरेका छन् ।

दोस्रो पटक राष्ट्रपति बनेका ट्रम्पले कयौं नीतिमा हस्ताक्षर गरेका छन् । उनले विश्व स्वास्थ्य संगठन र पेरिस ट्रिटिबाट बाहिरिने पत्रमा हस्ताक्षर गरिसकेका छन् । यसबाट कम्तिमा १ ट्रिलियनभन्दा बढी अमेरिकी रकम जोगिने उनको दाबी छ ।

यी कानूनमा हस्ताक्षर लगत्तै ट्रम्पले विदेशी मुलुकलाई दिँदै आएको सबै प्रकारका सहयोग रोक्ने पत्रमा हस्ताक्षर गरे । यसको प्रभाव नेपालमा पनि प्रत्यक्ष परेको छ । विश्व स्वास्थ्य संगठन र जलवायु परिवर्तनसँग सम्बन्धीत सम्झौताबाट अमेरिकाले हात झिक्दा समेत हामिलाई प्रभाव पर्छ ।

विदेशी मुलुकलाई दिँदै आएको सबै किसिमका सहयोगबाट हात झिक्नसाथ नेपालमा प्रभाव सुरु भएको छ । नेपालस्थित अमेरिकी सहयोग नियोग यूएसएडले ९० दिनका लागि नेपालमा सञ्चालित सबै कार्यक्रम स्थगित बनेको जानकारी दिएको छ ।

यूएसएडले पत्र लेखेर नै यसबारे जानकारी दिएको अर्थमन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए । यससँगै, नेपाललाई प्राप्त भएको अनुदान सहायतामध्ये बजेट प्रणालीमार्फत सर्वसञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका ४ वटा आयोजना प्रभावित बन्नेछन् ।

स्वास्थ्य, कृषि, शिक्षा र नीति निर्माणको तहमा अमेरिकाको प्रत्यक्ष सहयोग पूर्णरुपमा रोकिने प्रवक्ता भट्टराईले जानकारी दिए ।