नेपाल ‘ग्रे लिस्ट’मा परेपनि छिट्टै निस्कने आधारशिलाहरू बनेको छ : गभर्नर अधिकारी

नेपाल ‘ग्रे लिस्ट’मा परेपनि छिट्टै निस्कने आधारशिलाहरू बनेको छ : गभर्नर अधिकारी


काठमाडाैं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सम्पत्ति शुद्धीकरणको मामिलामा ग्रे लिस्टमा परेपनि चाँडै बाहिर आउन सक्ने उल्लेख गरेका छन् । सोमबार सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा समावेश भयो भनेपनि चाँडै बाहिर निस्कने धेरै आधारशिलाहरू बनेको बताएका हुन् ।

गभर्नर अधिकारीले आवश्यक कानुन, नियमावलीहरू बनिसकेको पनि बताए। उनले  एफएटीएफले गर्ने फेब्रुअरी १७ देखि २१ सम्म हुने मूल्याङ्कनमा नेपालका सबै रिपोर्ट हेरेर ग्रे लिस्टमा राख्ने नराख्ने निर्णय हुने बताए ।

उनले भने,‘फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) ले सम्पत्ति शुद्धीकरण गैर कानुनी क्रियाकलाप निवारण गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गरेको छ। यस क्षेत्रमा कानुनी, नीतिगत र संरचनागत रूपमा काम हुँदै आएको छ। एशिया प्रशान्त क्षेत्रमा एशिया प्यासिफिक ग्रुप अन मनी लाउण्डरिङ (एपीजी) ले मूल्याङ्कन गर्ने गरेको छ। यो क्षेत्रमा सुधार भए/नभएको हेरेर एपीजीले सम्पत्ति शुद्धीकरणको खराब सूचीमा लैजान्छ। नेपाल तेस्रो मूल्याङ्कनपछि अब्जरबेसन सकिएको छ। हामी लिस्टिङको स्टेजमा छौं। एफएटीएफले गर्ने फेब्रुअरी १७ देखि २१ सम्म हुने मूल्याङ्कनमा नेपालका सबै रिपोर्ट हेरेर लिस्टिङको स्टेजको अवस्था थाहा हुनेछ। लिस्टमा समावेश भयो भने पनि हामी बाहिर निस्कने धेरै आधारशिलाहरू बनेका छन्।’

गभर्नर अधिकारीले पछिल्लो समय नयाँ–नयाँ रूपमा जोखिमहरू आइरहेको भन्दै त्यस्ता जोखिमलाई न्यूनीकरण गर्न लाग्नुपर्नेमा जोड दिए। उनले गैर कानुनी हिसाबमा सम्पत्ति आर्जन गर्नेलाई कडा कारबाही हुनुपर्ने बताए।