टिकटक किन्ने दौडमा विश्व धनाड्य, मस्कदेखि मिस्टर बिस्टसम्म लगाउँदैछन् ‘रेस’

टिकटक किन्ने दौडमा विश्व धनाड्य, मस्कदेखि मिस्टर बिस्टसम्म लगाउँदैछन् ‘रेस’


काठमाडौं – चिनियाँ लगानीको टिकटक बिक्री हुने भएपछि किन्नका लागि ३ जना मूख्य दौडमा देखिएका छन् । विश्व धनाड्य एलन मस्कसहित जिम्मी डानाल्डसन अर्थात मिस्टर बिस्टसहितका व्यक्ती टिकटक किन्न तम्सिएका हुन् ।

बिस्टले आफ्नो टिकटकमा रहेका १० मिलियनभन्दा बढी फलोअर्सलाई टिकटक किन्नका लागि आफु तयार रहेको बताएका थिए । उनले भनेका थिए, ‘म सम्भवत टिकटकको नयाँ प्रमुख कार्यकारी अधिकृत बन्न सक्छु ।’

आजसम्ममा इन्टरनेटमा उनको सो भिडियो ७३ मिलियनभन्दा बढीले हेरिसकेका छन् । उनले टिकटक किन्न आफुले लगाएको बोलीबारे थप नभन्ने बताउँदै उनले थपे, ‘यो रोमाञ्चक हुनेवाला छ ।’

चिनियाँ लगानीकर्ता कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक बेच्न बाध्यकारी बनाउने ऐनमा निवर्तमान राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेका थिए । सो हस्ताक्षरअनुसार १९ जनवरीसम्म टिकटक बिक्री भइसक्नुपर्ने वा बन्द हुनुपर्ने व्यवस्था थियो ।

तर, राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि टिकटक बन्द गर्ने निर्णय ७५ दिनलाई रोकेका थिए । अमेरिकाले बेच्नैपर्ने कानूनी व्यवस्था गरेपछि बाइटडान्सले भने मस्कलाई बिक्री गर्ने इच्छा देखाएको समाचार संस्था ब्लूमवर्गले उल्लेख गरेको छ । मस्क यतिबेला एक्सका मालिक हुन् ।

मस्कले आफ्नो एक्स एकाउन्टमा टिकटक बन्द गर्ने नीतिको विरुद्धमा रहेको उल्लेख गरेका थिए । यस्तै, मस्कले अमेरिकामा टिकटक चल्न पाउने र चीनमा एक्स चल्न नपाउने व्यवस्थाको विरोध गरेका थिए । यस्तै, राष्ट्रपति ट्रम्पले समेत पत्रकारलाई जवाफ दिँदै मस्कले टिकटक किन्न चाहेमा किन्न सक्ने बताए ।

यसैगरी, ट्रम्पले ओराकलका अध्यक्ष ल्यारि इलिसनले समेत टिकटक किन्न सक्ने संकेत गरे । इलिसन लामो समयदेखि ट्रम्पका समर्थकारुपमा रहेका थिए ।