काठमाडौं – अमेरिकाको लस एन्जलसमा लागेको भीषण डढेलोका कारण लस एन्जलसको २५० अर्ब डलर बराबरको आर्थिक क्षति पुर्याउने अनुमान गरिएको छ । जुन, अमेरिकी इतिहासकै सबैभन्दा महँगो प्राकृतिक विपत्ति बन्दैछ । यो रकम लगभग हरिकेन कट्रिनाले पुर्याएको आर्थिक क्षतिको बराबर हो । यस डढेलोबाट क्यालिफोर्नियाको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४ प्रतिशत असर पर्ने अमेरिकी समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।
यसअघि सन् २००५ मा आएको ‘हरिकेन कट्रिना’ नामक शक्तिशाली समुन्द्री आँधी (तुफान)ले १२५ बिलियन अमेरिकी डलरको क्षति पुर्याएको थियो । यो प्रकोपले २००५ को आँधीभन्दा दोब्बरभन्दा पनि बढी अर्थात् २५० बिलियन अमेरिकी डलरको क्षति हुने बताइएको छ । यो आगलागी नियन्त्रणदेखि आगोमा परेर नष्ट भएका वस्तु, घर, गाडी र भौतिक संरचनामा पुगेको क्षतिको विवरण हो ।
सो आँधीभन्दा पनि बढी क्षति पुर्याउने अनुमान गरिएको यो डढेलाका कारण अमेरिकाका बीमा कम्पनीमा संकट आउने अड्कल भइरहेको छ । अमेरिकी बीमा उद्योगको लागि लस एन्जल्स र क्यालिफोर्नियामा अनियन्त्रित बनिरहेको डढेलो ठुलो समस्या बनिरहेको छ । पछिल्लो समय जलवायु परिवर्तन आँधीबेहरी जस्ता प्रकोपले शक्तिशाली बनाएको भएपनि बीमा उद्योगलाई ती जोखिमहरूसँग सामना गरिरहेका छन् ।
सन् २०१६ को अल्बर्टा, क्यानडाको आगलागीले बीमा उद्योगमा ४३ अर्ब क्षति पुर्याएको थियो । त्यो क्यानडा र अमेरिकामा हालसम्मकै सबैभन्दा महँगो आगलागी घटना थियो । तर, यतिबेला लस एन्जल्समा लागिरहेको आगलागीबाट इतिहासकै सबैभन्दा ठुलो क्षति पुर्याउँदै छ । सन् २०१७ देखि आगलागीले अमेरिकी बीमा उद्योगलाई ६७ अर्ब क्षति पुर्याएको थियो । र, सन् २०२५ मा यो आँकडा लगभग ५० प्रतिशतभन्दा बढीले बढ्ने अनुमान गरिएको छ ।
यो आगलागीमा परेर ११ हजार ८०० एकडभन्दा बढी क्षेत्र जलेर नष्ट भएको छ भने कम्तीमा १ हजार संरचना जलेको छ । जेपी मोर्गनको विश्लेषणअनुसार आगलागी फैलिएको क्षेत्र लस एन्जल्सको समृद्ध क्षेत्र हो । जहाँ, एउटा घरको मूल्य न्यूनतम ३ मिलियन अमेरिकी डलरबाट सुरु हुन्छ ।
समृद्ध क्षेत्र भएकाले लस एन्जल्समा जलेर नष्ट भएका घर मालिकहरूले बीमाका लागि प्रतिवर्ष कम्तीमा १ हजार अमेरिकी डलरदेखि ४० हजार अमेरिकी डलरसम्म खर्च गर्दै आइरहेका छन् । क्यालिफोर्निया राज्यमा बीमा अनिवार्य छैन । तर, घर धितो राख्न परेमा भने बीमा अनिवार्य चाहिन्छ । (विभिन्न अन्तर्राष्ट्रिय लेखहरूमा आधारित)
प्रतिक्रिया