सूचना प्रविधि उद्योगिका लागि सकारात्मक सन्देशः आईटी उद्योग प्रवर्धनमा सरकारको दूरगामी कदम

सूचना प्रविधि उद्योगिका लागि सकारात्मक सन्देशः आईटी उद्योग प्रवर्धनमा सरकारको दूरगामी कदम


काठमाडौं – नासआईटीले हालैको अध्यादेशलाई समयमै कार्यान्वयन गराउन र आवश्यक कार्यविधि तथा निर्देशिका जारी गरी सम्बन्धित निकायहरुद्वारा थप सहजीकरण हुने विश्वास व्यक्त गरेको छ । यसबाट सूचना प्रविधि क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई सकारात्मक सन्देश जाने नासआईटीले जनाएको छ ।

सरकारले यस आर्थिक बर्षको बजेटमार्फत आगामी १० वर्षभित्र सूचना प्रविधि (आईटी) उत्पादन र सेवाहरूको ३० खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने लक्ष्य निर्धारण गरेको छ । साथै सूचना प्रविधि क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ सो लक्ष्य प्राप्त गर्नका लागि पनि हालैका अध्यादेशले सकारात्मक भूमिका खेल्ने र कोशेढुँगा सावित हुने हाम्रो विश्वास छ ।

सरकारको समग्र योजनामा प्रविधि पूर्वाधार विकास, नीतिगत सहयोग, र सूचना प्रविधि क्षेत्र सुदृढ पार्न विभिन्न पहलहरू गर्नुले सरकारले दीर्घकालीन र नवीन सूचना प्रविधि प्रणाली निर्माण गर्ने लक्ष्य लिएको नासआइटिको विश्वास छ र यसमा हामी सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार छौ । नेपालको सूचना प्रविधि उद्योगले शुरुवाती अवस्थाबाट क्रमिक प्रगतितर्फ यात्रा गरिरहेको छ। यस क्रममा विदेशी लगानीकर्ताहरु र देशभित्र रोजगारी सृजना गर्ने रोजगारदाताहरुको संलग्नता उल्लेखनीय रूपमा बढिरहेकोछ ।

नासआईटीले आर्थिक र व्यावसायिक वातावरण सुधार गर्न तथा लगानी अभिवृद्धिका लागि हालै नेपाल सरकारले सार्वजनिक गरेका कानून संशोधनको सबै क्षेत्रबाट उचित परिपालना हुने अपेक्षा गरेको छ । यसका लागि सबै सरकारी र सरोकारवाला निकायहरुबीच आवश्यक समन्वयात्मक कार्य गराउन नासआईटी आफ्नो पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गर्दछ ।