धनुषा – निर्धन संस्थाको आयोजनामा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संयोजकत्वमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड धनुषाधामका ३१ जना ग्राहक सदस्यहरूको सहभागितामा २०८१ माघ ८ गते देखि १० गते सम्म ‘व्यावसायिक भैँसी तथा गाई पालन तालिम’ प्रदान गर्न लागिएको छ । तालिमको उद्घाटन तथा दीप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथि धनुषधाम नगरपालिका वडा ३ अध्यक्ष जय नारायण यादव, विशिष्ट अतिथि निर्धन संस्थाका उपाध्यक्ष श्री जनार्दन देव पन्त र निर्धन संस्थाका कार्यकारी अधिकृत श्रीमती अन्जु पाण्डे रहेका थिए ।
कार्यक्रममा पन्तले व्यावसायिक परियोजना तथा वित्तीय साक्षरता सम्बन्धी पुस्तक अध्यक्ष श्री जय नारायण यादवलाई प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि यादवले आफ्नो मन्तव्य मार्फत संस्थाद्वारा सञ्चालन गर्न लागेको सीप विकास तालिमले जन समुदायमा सचेतना वृद्धि गर्ने कुरा प्रस्टाए । जनसमुदायले जीविकोपार्जनको लागि पशुपालन गर्ने गरेका छन्, उनीहरूलाई पशु बिरामी पर्दा के कस्तो किसिमको हेरचाह तथा स्वास्थ्य उपचार चाहिन्छ सोको बारेमा विशेष जानकारी नभएको र पशु विशेषज्ञ उपचार गर्न जाँदा समेत उपचार गर्न अग्रसर नभएको देखिन्छन् । त्यसैले हरेक गाउँ समुदायमा यस किसिमको तालिम प्रदान गर्न सकेमा पशुपालन व्यवसायमा ठुलो परिवर्तन हुने तथा स्थानीयको आय वृद्धि हुनेछ भन्दै संस्थालाई धन्यवाद दिए ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि जनार्दन देव पन्तले तालिममा उपस्थित सहभागीहरूलाई आजको आवश्यकता भनेको उद्यमीको क्षमता र सम्भावना अनुसार उचित सीप, स्रोत, साधन र बजारको पहुँच पु¥याउनु नै महत्त्वपूर्ण हुने र सोका लागि सीप विकास तालिम अति नै आवश्यक भएको बताए । पन्तले हाल ग्राहक सदस्यहरूले जीविकोपार्जनको हिसाबले १–२ वटा भैँसी तथा गाई पालन गरेर आफ्नो जीविकोपार्जन गर्ने गरेकोमा सीप विकास सम्बन्धी व्यावसायिक शिक्षा लिई यसैलाई व्यवसाय बनाउन सकेमा वैदेशिक रोजगारीमा समेत जान नपर्ने बताए ।
उदाहरण स्वरूप १ वटा मुर्रा भैँसी पालन गरेर दैनिक सरदर १० लिटर दूध १ सय रुपैयाँका दरले बिक्री गर्दा वार्षिक १ लाख ७० हजार रुपैयाँ कमाउन सकिन्छ भने १० वटा पालन गर्ने हो १७ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ जुन कार्य हामी परिवार सँगै बसेर आफ्नै देशमा कमाउन सक्छौँ भने ।
कार्यक्रममा हाम्रा मेरुदण्डका रूपमा रहेका सदस्यहरूलाई स्वरोजगार बनाउने मात्र नभई उनीहरूको क्षमताअनुसार आवश्यक सीप, स्रोत र बजारको पहुँच पु¥याई उत्पादनमा प्रति इकाई लागत कम गरी उत्पादकत्व बढाउदैं सानाबाट मझौला हुँदा ठुला लघु उद्यमी/व्यवसायी बनाउने उद्देश्य अनुरूप उन्मुख भई उनीहरूलाई आवश्यकता अनुसार सीप विकास, उद्यमशीलता विकास तालिमहरू प्रदान गरिरहेका छौँ भने । यस तालिमबाट तपाँइहरुको व्यावसायिक क्षमता अभिवृद्धि भई उत्पादकत्व र आम्दानी वृद्धि भई आर्थिक र सामाजिक अवस्थामा सुधार हुने विश्वास गरेका छौँ भने ।
त्यसैगरी निर्धन संस्थाका कार्यकारी अधिकृत श्रीमती अन्जु पाण्डेले आफ्नो मन्तव्यमा तालिममा उपस्थिति सहभागीहरूले पशुपालन निर्वाहमुखी रूपमा गर्दै आइरहेकोमा यस संस्थाद्वारा प्रदान गरेको तालिमको माध्यमबाट सीप तथा ज्ञान हासिल गरी निर्वाहमुखीबाट व्यावसायिक रूपमा पशुपालन गरी लघु उद्यमी बन्न प्रेरणा दिए साथै सोको लागि निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले समेत वित्तीय सहयोग गर्ने बताए ।
सहभागीहरूको तर्फबाट सुशीला कुमारी सिंहले कार्यक्रमको सभापतित्व गर्नु भयो । त्यसैगरी निर्धन उत्थान ल.वि.सं.लि.का क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत प्रदीप कुमार दास र शाखा कार्यालयका प्रमुख दुर्गानन्द कुमार दासको उपस्थिति रहेको थियो । तालिममा प्रशिक्षकका रूपमा धनुष धाम नगरपालिकाका पशु प्रमुख विष्णु देव यादवज्यू र प्राविधिक श्री विरेन्द्र कुमार यादवद्वारा ३ दिन सम्म प्रशिक्षण दिने कार्यक्रम रहेको छ । आयोजकका तर्फबाट निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिस रत्न कोनाजोले तालिममा सहजीकरण गर्नेछन् ।
प्रतिक्रिया