लन्डनमा नेपाली गहना पसल

लन्डनमा नेपाली गहना पसल


काठमाडौं – बेलायतमा नेपालीहरुको सबैभन्दा सघन बसोबास भएको सहर अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामको सुनचादीको नयाँ शोरुम खुलेको छ । पछिल्लो समय बेलायतमा स्थायी रूपमा बसोबास गर्न थालेका गायक श्याम सामसोहाङ राईले अर्का गायिका जानुका राईसंग मिलेर उक्त व्यवसाय सुरु गरेका हुन् ।

अल्डरशटमा सोमबार नेपालिज ज्वैलरी एसोसिएसनका अध्यक्ष तथा आदिवासी जनजाती महासंघका पनि अध्यक्ष मेजर रिटायर्ड योगेश कोयी राईको प्रमुख आतिथ्यमा ह्याप्शायर काउण्टीका काउन्सिलर बिल ओ डोनाभान तथा चर्चित नायिका तथा नाटयकर्मी सिर्जना सुब्बाले संयुक्त रूपमा उट्घाटन गरे ।

लण्डनदेखि नजिकै रहेको अल्डरशट बसोबासको लागि मात्र नभई नेपालीहरूका लागि ब्यपारिक केन्द्रको रूपमा समेत विकास हुँदै गइरहेको छ । नेपालीहरूले दर्जनौं रेष्टुरेण्टदेखि किराना पसलहरू खोलेका छन् । यहाँ करिब एक दर्जन सुनचाँदीका पसलहरू सञ्चालनमा रहेका छन् । सुम्निमा ज्वैलरी एण्ड कलेकशनमा सुनचाँदीका अलावा विभिन्न जातजातिका पोशाकदेखि हस्तकलाका सामग्रीहरू समेत बेच्न राखिएको गायिका जानुका राईले बताइन् ।

नेपालीहरु पहिल्यदैखि सुनचाँदीका गहनामा सौखिन रहेका र सुरक्षित लगानीको रुपमा समेत नेपालीहरुले सुन किन्न थालेकाले सुन व्यवसायमा आफूहरु आकर्षित भएको गायक श्यामले बताए । सुम्निमा ज्वेलरी एण्ड कलेकशनमा सुनचाँदीका अलावा विभिन्न जातजातीका पोशाकदेखि हस्तकलाका सामाग्रीहरु समेत बेच्न राखिएको छ ।

गायक श्यामले भने, ‘आफुहरु नेपालमा पनि व्यवसायको थोरबहुत अनुभव लिएर आएको हुदा नयाँ ठाउँमा नयाँ व्यवसाय शुरु गर्न त्यति धेरै चुनौती छैन । अलिकति लगानी ठुलो भएकोले त्यही अनुसारको आक्रमक ब्यापारको रणनीति अपनाएर अगाडि बढ्नेछौं ।’ गायक श्यामका मुर्चुङगामा रोए म साराङगीमा रेटिए, मैच्याङ हौ मैच्याङ हौ लगायतका गीतहरु लोकप्रिय छन् ।