काठमाडौं – सरकारी कारोबार गर्ने बैंकहरुले अब दैनिक रुपमा नेपाल राष्ट्र बैंकलाई कारोबार विवरण पठाउनुपर्ने भएको छ ।राष्ट्र बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ मा दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेकाे हाे। संशोधित व्यवस्थाअनुसार अबदेखि नेपाल सरकार र स्थानीय तहको सरकारी कारोबार गर्ने बैंकहरुले दैनिक कारोबार विवरण पठाउनुपर्नेछ।
सरकारी कारोबार गर्ने वाणिज्य बैंकका केन्द्रीय कार्यालयहरुले आफ्ना शाखाहरुले क र ग समूहको खातामा गरेको सरकारी कारोबारको अनुसूची १ को स.का.फा.नं.१ बमोजिमको एकीकृत दैनिक विवरण तयार गरी राष्ट्र बैंकको बैंकिङ्ग महाशाखाको ई–मेलमा कारोबार भएको भोलिपल्ट मध्याह्न १२ बजेभित्र विवरण बनाउनुपर्नेछ।
बजेट खर्च खाताको जोर र बिजोर वर्षको अनुसूची १६ अनुसारको दैनिक विवरण कारोबार सकिएपछि जम्मा भएको भए १ प्रति जम्मा भौचरसहित दैनिक कारोबारको विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउनुपर्नेछ। धरौटी खाताको अनुसूची १७ अनुसारको दैनिक विवरण भौचरसहित सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पठाउनुपर्नेछ।
नेपाल सरकार र स्थानीय तहको सरकारी कारोबार गर्ने बैंकहरुले देहायबमोजिम मासिक कारोबार विवरण पठाउनुपर्नेछ।बैंकहरुले सञ्चालन गर्ने ‘क’ समूहका खाता भन्नाले नेपाल सरकारको खाता, ‘ख’ समूहका खाता भनेको प्रदेश सरकारको खाता र ‘ग’ समूहका खाता भनेको स्थानीय तहको भनी वर्गीकरण गरिएको छ।
बैंकहरुले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहअन्तर्गतका सरकारी कार्यालय, विकास आयोजना समिति, संघसंस्थाको नाममा क, ख र ग समूहअन्तर्गतका खाताबाहेक चल्ती, मुद्दतिलगायतका अन्य खाता खोल्न नपाउने व्यवस्था दोस्रो संशोधनमार्फत गरिएको छ। यस्ता खाताहरु खोल्नुपूर्व केन्द्रीय बैंकको स्वीकृति लिनुपर्नेछ।
वाणिज्य बैंकहरुको लागि सरकारी कारोबार गर्ने वाणिज्य बैंकहरुले आफ्नो शाखामा रहेको खर्च खाताबाट साउन १४ गतेसम्ममा भएको कुल खर्च रकमलाई सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयसँग हिसाब भिडान गरी आफ्नो केन्द्रीय कार्यालयमा सारी उक्त खर्च खाताहरु शुन्य गर्नु पर्दछ।
राष्ट्र बैंकबाट बुँदा नं. ८.२.१ को अन्तिम हिसाब मिलान भए पश्चात् वाणिज्य बैंकको केन्द्रीय कार्यालयले शाखाहरूबाट ट्रान्सफर भई आएको क-२.१ बजेट खर्च खाता- बिजोर वर्ष वा क २.२ बजेट खर्च खाता जोर वर्ष खाताको रकम केन्द्रीय कार्यालयस्थित सरकारी कार्यालय खर्च हिसाब मिलान खातामा सारी हिसाब मिलान गर्नुपर्दछ ।
प्रतिक्रिया