स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

'यस कार्यक्रमअन्तर्गत करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी'


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।

सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सूशिक्षित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था आउन दिन नहुने बताए ।

उनले कार्यदलबाट स्वास्थ्य बीमा कार्यक्रमको वस्तुनिष्ठ समीक्षासहित सुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यवहारिक हुनेगरी कार्यक्रमलाई सुधार गर्ने गरी एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई भनेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा. शम्भु आचार्य, सदस्यहरु डा. भगवान कोइराला, डा. रघुराम काफ्ले र सदस्यसचिव डा. सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत, कानूनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गरेका थिए ।

हाल यस कार्यक्रमअन्तर्गत करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । यस कार्यक्रममा हाल कुल जनसंख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र आबद्ध भएकामध्ये ४८ प्रतिशतले सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुनी रहेका सबै नागरिकको स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुझाव दिइएको छ ।

कार्यदलले आधारभूत स्वास्थ्य सेवा र अन्य सामाजिक सुरक्षाका कोषहरूको कार्यक्रमसँग पनि यस कार्यक्रमलाई एकीकरण गर्न सुझाएको छ । सो कार्यदलले गत पुस १४ गते मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो ।