सिन्धु विकास बैंकको सिन्धुपाल्चोकस्थित शाखामा भएकाे आगलागीबाट ४० लाख बराबरकाे क्षति

सिन्धु विकास बैंकको सिन्धुपाल्चोकस्थित शाखामा भएकाे आगलागीबाट ४० लाख बराबरकाे क्षति


काठमाडाैं – सिन्धु विकास बैंकको सिन्धुपाल्चोकस्थित लामे साँघु शाखामा आगलागी भएको छ। बलेफी गाउँपालिका-८ लामोसाँघुमा रहेको बैंकको शाखामा शनिबार बिजुली सर्ट भई आगलागी भएको हो ।

स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहायताले नियन्त्रणमा लिइएको आगलागीका कारण मानवीय तथा ऋणसँग सम्बन्धित कागज र बैंकमा रहेको नगद सुरक्षित रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जानकारी दिएको छ ।

नगद तथा कागजपत्रहरू सुरक्षित रहे पनि बैंकमा रहेका अन्य सामानमा भने क्षति पुगेका छन् । प्रहरीकाअनुसार बैंककाे शाखामा रहेका फल्स सिलिङ, स्टोरका सामान, फर्निचर लगायतका सामानमा भने क्षति पुगेको छ।

प्रहरीका अनुसार आगलागीबाट ४० लाख रूपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। यद्यपि, आगलागीबाट भएको क्षति बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । यसैबीच बैंकले सूचना जारी गर्दै साे शाखा बन्द रहेकाेले खाडिचाैर शाखाबाट काराेबार गर्न ग्राहकहरूलाई आग्रह गरेको छ ।