काठमाडौं – इसेवा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले बीमा क्षेत्रमा ‘पोलिसि पेमेन्ट’ मात्रै डिजिटल बनेको बताएका छन् । बीमामा प्रविधिको उच्चतम प्रयोग बढाउँदै लैजाने क्रममा पेमेन्ट मात्रै डिजिटल माध्यमबाट सुरु भएको बताएका हुन् ।
‘नेशनल इन्स्योरेन्स डिस्कोर्श, २०२५’को ‘बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरू’ नामक तेस्रो सत्रमा बोल्दै उनले वालेटकामाध्यमबाट पोलिसिको पेमेन्ट डिजिटल बनेको बताए । ‘वालेटबाट अहिले प्रिमियम कलेक्सन र रिन्यूअल फि कलेक्सन मात्रै डिजिटलरुपमा भएको हो,’ उनले भने ।
उनले भावी दिनमा बीमा कम्पनीहरुले डिजिटलरुपमा नै बीमा पोलिसि बिक्री गर्दै डिजिटलमाध्यमबाटै पेमेन्ट गर्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ । यसो हुन सकेमा नेपालका सञ्चालित डिजिटल वालेटहरूले समेत बीमाको पहुँच विस्तारमा सहयोगी भूमिका खेल्न सक्ने खड्काको भनाई छ ।
‘बीमालाई डिजिटलरुपमा नै ‘इम्बेड’ गरेर लैजानका लागि धेरै अवसर छन्,’ खड्काले थपे, ‘यसमा पेमेन्ट र सेलको विषय समेत जोडिन्छन् । वालेटले बीमा पोलिसिको भुक्तानीमा अहिलेकोभन्दा उत्कृष्ट र सहयोगी भूमिका खेल्न सक्छन् ।’ यतिबेला बीमा कम्पनीहरु बीमा पोलिसि बेच्नुपर्ने स्थितिमा छन् । बीमालाई डिजिटल बनाउँदै लैजाँदा पोलिसि किनौं भन्ने स्थितिमा सेवाग्राही स्वंम पुग्ने समेत खड्काले बताए ।
‘वालेटले खोजेको स्पेस पेमेन्ट प्लेटफर्मकारुमा सबैको हातमा रहेको भुक्तानी माध्यमको पहुँचलाई बीमा कम्पनीले आफ्नो पहुँच विस्तारलाई सदुपयोग गर्न सक्नुपर्छ,’ उनले भने । यस्तै, डिजिटलबन्दा डेटा चोरीको जोखिम शून्य हुने समेत उनको भनाई छ । ‘डेटा चोरी र जोखिम लगायतका कुरा यतिबेला जोडतोडका साथै उठ्छन्,’ खड्काले भने, ‘यसमा सबैभन्दा पहिला डेटाको पूर्वाधार बुझ्न जरुरी छ । डेटा हावामा घुम्दैन । डेटा राख्ने डेटा सेन्टरको व्यवस्थापन बारे हेर्नुपर्छ । यसका पूर्वाधार मजबुत छन् वा छैनन् भन्ने विषय हेर्नुपर्छ ।’
प्रतिक्रिया