विराटनगरमा जन्मेहुर्केका दिपेश कार्की भारतको ‘पीटूपी लेन्डिङ क्लब’ लेनदेनका सह–संस्थापक हुन् । मासिक साढे २०० करोड भारु बराबरको कारोबार गर्ने लेनदेन कार्की र भारतकै भविन पटेलले सन् २०१५ देखि सञ्चालन सुरु गरेका हुन् । सञ्चालनको एक दशक पुग्दा लेनदेनका सेवाग्राहीको संख्या ३ करोड पुगिसकेका छन् । नेपालको विराटनगरमा जन्मे हुर्केर त्यहीबाट १२ कक्षासम्मको शिक्षा लिएका कार्की त्यसपछि उच्च शिक्षाका लागि भारतीय दूतावासको छात्रवृत्ति कोटामा भारत छिरे ।
भारतको हरियाणाको ‘नेशलन इन्स्ट्च्यिूट अफ टेक्नोलोजि’ (एनआईटी) मा इञ्जिनियरिङ गर्न २००७ मा पुगे । इञ्जिनियरिङमा उच्च शिक्षा हासिल २०११ देखि २०१२ सम्म भारतमा कार्यरत कार्की २०१३ मा अवसर खोज्दै नेपाल फर्के पनि अन्ततः भारत नै फर्किए र सफल उद्यमीको पहिचान बनाइसकेका छन् । मुम्बईमा अवस्थित लेनदेन क्लब यतिबेला भारतको सबैभन्दा ठूलो ‘पीटूपी लेन्डिङ’ (नन–बैंकिङ्ग फाइनान्सियल) कम्पनीकारुपमा स्थापित भइसकेको छ । उनी कार्कीसँग बैंकिङ्ग समाचारले गरेको कुराकानीको सम्पादित अंश:–
तपाईँले यतिबेला भारतमा आफ्नो छुट्टै पहिचान बनाइसक्नु भएको छ । सुरुमा बाल्यकाल र नेपालबारे स्मरण गर्नुन ।
मैले मोरङको विराटनगरमा जन्मेर कक्षा १२ सम्म त्यही अध्ययन गरे । त्यसपछि इञ्जिनियरिङ गर्ने लक्ष्य बोकेर काठमाडौं छिरे र पुलचोकमा नाम निक्लियो । पुलचोकमा सिभिलतर्फ नाम निस्कियो । तर, मलाई इलेक्ट्रोनिक इञ्जिनियरिङ गर्न मन थियो । त्यहीक्रममा सन् २००६ मा भारतीय दूतावासले नेपालीहरूका लागि भारतमा अध्ययनका लागि छात्रवृत्ति खुलाएको जानकारी पाइयो ।
आवेदन दिएपछि भारतमा उच्च शिक्षा अध्ययनका लागि नाम निस्कियो । सन् २००७ मा उच्च शिक्षाका लागि नेशनल इन्स्टिच्यूट अफ टेक्नोलाजी (एनआईटी) हरियाणामा पढ्न भारत पुगे र २०११ मा पढाई सकियो । पढाई सकिएपछि नयाँ दिल्लीको न्यूजेन सफ्टवेर्समा इन्र्टन गरेपछि २०१२ मा नेपाल फर्कने निर्णय गरेर नेपाल फर्किए ।
भनेपछि उच्च शिक्षा हासिल गरेर २०१३ मा नेपाल फर्किनु भयो । नेपालमा केही अवसरको खोजी गर्नुभयो वा लगत्तै भारत फर्किनु भयो ?
नेपाल फर्किएपछि जागिरको खोजी सुरु गरे पनि भनेजस्तो भेटिएन । नेपालमा निजी कम्पनीमा काम गर्न पनि भनसुन लाग्ने पुरानै चलन हो । बल्लतल्ल २० हजार रुपैयाँ प्रतिमहिनाको एउटा जागिर पाइयो । तर, प्रविधि पुरानो लागेकाले जागिर सुरु गरेको पहिलो दिन नै जागिर छाडे । अनि फेरी भारत नै फर्केर कलेजका साथीहरूसँग छलफल गर्दा एक जना ‘सिनियर्स’ले एउटा ‘आईडीया’मा काम गरिरहे को जानकारी पाएपछि ‘पाइपआईएसओ’ नामक एप खोल्ने निर्णय गरियो । त्यो साथी र मिलेर २०१३ देखि २०१५ सम्म त्यो सफ्टवेर्स बनाए र बेचेँ ।
त्यो कस्तो सफ्टवेयर थियो ? खास लक्ष्य र योजना के हो त्यसको ?
त्यो एपले ठुला–ठुला सपिङ मलको पूर्वाधार बनाउँदा पाइप बिछ्याउनका लागि चाहिने आधारभूत जानकारी दिने हो । यस्तै, क्रुज, पावर प्लान्ट, एयरक्राफ्ट क्यारियर, फाइटर प्लेन लगायत ठुला यातायात बनाउँदा पाइप बिछ्याउन समेत सहयोगी भूमिका खेल्ने गरी बनाइएको थियो । त्यो एपको मुख्य काम भनेको ठुला इञ्जिनियरिङ डिजाइनिङ गर्दा पाइप राख्न सघाउने हो ।
त्यो सफ्टवेयर प्रयोग भएका केही उदाहरण छन् ? छन् भने बताइदिनुस् ।
भारतमा नै मेरो पहिलो क्लाइन्ट ‘बाबा एटोमेटिक रिर्सच सेन्टर’ बीएआरसी थियो । । यस्तै लर्सेन एण्ड टुब्रोले समेत चलायो । यसबाहेक युरोपका एरेभा, एक्सिओना र बोकार्ड लगायत कम्पनीले समेत चलाएका थिए । योबाहेक, राफाल फाइटर प्लेन बनाउने कम्पनीले समेत प्रयोग गर्छ ।
तपाईँले उच्च शिक्षा लिँदादेखि नै भविष्यमा व्यवसायी बन्छु भन्ने योजना बनाउनु भएको थियो ? वा काम गर्दै जाँदा बन्नुभयो ?
इन्जिनियरिङ पढ्दै गर्दा कलेजमा ‘फ्यूचर इम्प्लोई हायर’ गर्न कम्पनीहरु आउँथे । त्यतिबेला एउटा कम्पनीसँगको ‘फाइनल इन्भरभ्यू’मा मैले आँफैले केही गर्नुछ भनेको थिए । त्यसपछि उनीहरूले यो धेरै नटिक्ने रहेछ भनेका थिए । म भारतको ‘स्कलरसिप’मा पढ्न आएकाले केही गर्नुपर्छ भन्ने ‘माइन्ड सेट’ सुरुदेखि नै बनाएको थिए । अहिले भारतमा व्यवसायीक यात्रा अघि बढाउँदै छु । यही क्रममा नेपालमा पनि योजना बनाइरहेको छु ।
व्यवसायीक जीवनको ‘टर्निङ प्वाइन्ट’ सम्झनुपर्यो भने कुन विषयलाई सम्झनुहुन्छ ?
जिन्दगीमा अनुभव बटुल्दै जाँदा धेरै कुरा सिकिन्छ । तीनै विषयले सिकाउने न हो । मैले पाइपआईएसओ स्थापना गर्दा व्यवसायीक जीवनको महत्त्वपूर्ण ज्ञान आर्जन गरेको थिए । उद्यमी बन्ने यात्राको त्यो पहिलो खुड्किलो थियो । २०१३ मा सुरु गरेको योजनामा सरकारी कर्मचारीसँगको काम धेरै हुन्थ्यो । र, सरकारी काम गर्दा प्रक्रियागत झन्झट र ढिलाइ धेरै नै हुन्थ्यो । यो नै पहिलो ‘आन्टरप्रेनरसीप’ छाड्नु मध्येको एउटा र मुख्य कारण पनि हो ।
पहिलो योजनामा काम गर्दै गर्दा मेरो मुम्बईका साथीहरूसँग एक दिन कुराकानीका क्रममा नयाँ योजनाबारे छलफल भयो । भविष्यको योजनाबारे छलफल हुँदा ‘नन–फाइनान्सियल बैंकिङ्ग कर्पोरेशन’बारे छलफल भयो र हामी दुई जना सह–संस्थापक यो योजनामा काम गर्न तयार भयौँ । लेनदेन चलाउने ‘आइडियामा कन्भिन्स’ हुनु र चलिरहेको ‘आन्टरप्रेनरसीप’ छाड्नु नै व्यवसायीक जीवनको महत्त्वपूर्ण क्षणकारुपमा लिन्छु।
लेनदेन सुरु गरेर अहिले भारतमा छुट्टै पहिचान बनाउनु भएको छ । सुरुमा व्यवसाय सुरु गर्दा भोगेको चुनौतीहरूबारे स्मरण गर्नु न । यस्तै, हाल कम्पनीको ‘स्ट्रेन्थ’बारे पनि बताइदिनु न ।
लेनदेनको सह–संस्थापक भविन पटेल र म फुटबल खेल्ने साथी हौँ । पैसा सरसापट गर्नु कुनै रकेट साइन्स होइन । तर, हाम्रो समाजको मुख्य समस्या हो । हामीले पहिलादेखि नै साहुसँग ऋण लिनुपर्ने बाध्यात्मक स्थिति देखेका थियौँ । ती, साहुहरूले ब्याजमा पैसा दिएबापत कागज र घरजग्गा नै धितो राख्छन् । सबै साहु इमानदार बन्दैनन् भने सबै ऋणी पनि इमानदार हुँदैनन् । साहुबाट पैसा लिएपछि हुने हत्या, हिंसा र कुटपिटसम्मको घटना भएका छन् ।
अहिले हामी भारतको अनौपचारिक अर्थतन्त्रमा चलिरहेको सरसापटको बजारलाई औपचारिकमा ल्याउने काम गरिरहेका छौँ । साहुसँग लिने महँगो ब्याज समेत घट्छ । यो व्यवसाय सुरु भएको २०१५ मा हो । १० वर्ष अघिको भारतमा डिजिटल युग सुरु भइसकेको थिएन । सुरुमा ‘क्लाइन्ट’कोमा पुगेर यसबारे बुझाउन खोज्दा उनीहरू पत्याउँदैनथे । त्यतिबेलाको सबैभन्दा ठुलो चुनौती ‘माइन्ड सेट’ थियो भने ‘इकोनोमिक स्टेबलिटी’ समेत चुनौतीकारुमा थियो ।
सुरुमा चुनौतीपूर्ण भए पनि भारतको केन्द्रीय बैंकले यसलाई राम्रोसँग नियमण गर्यो र आज ‘बीटूबी लेन्डिङ’को लक्ष्यसहित स्थापित लेनदेन यो स्थितिमा आइपुगेको छ । चीनमा समेत यो व्यवसाय राम्रोसँग चल्न सकेको छैन । अमेरिकाको यस्तै प्रकृतिको ‘लेन्डिङ क्लब’ र बेलायतमा ‘जोपा’ बैंक बन्यो । यीबाहेक अन्य कम्पनीको सफलताको कहाँनी सुनिएको छैन । जबकि, आरबीआईले पीटूपी लेन्डिङलाई नियमन गर्न २०१७ अक्टोबरमा फ्रेमवर्क आयो । यसपछि यो चुनौती पनि सकियो ।
यसपछि २०१९ मा आएको कोरोना लगायतका समस्या आए । यस्तै, भारतमा विभिन्न क्षेत्रमा अस्थिरता देखियो र चुनौतीपूर्ण रह्यो । यी विविध चुनौती पन्छाउँदै हामी अघि बढ्दै छौँ । बैंकले नसकेको क्षेत्रमा हामीले काम गरिरहेका छौँ । लेनदेनमा ३ करोडभन्दा बढी सेवाग्राही जोडिएका छन् । यो धेरै ठुलो तथ्याङ्क होइन । तर, पनि यो बैंकिङ्ग जनसंख्याको ७ प्रतिशत सेवाग्राही हुन आउँछ । तुलनात्मकरुपमा हामी अघि जाँदैछौँ । जबकि, भारतको बैंकिङ्ग जनसंख्या नै ५० देखि ६० करोड हाराहारी मात्रै छन् ।
शुन्यबाट सुरु गरेर यो स्थितिसम्म आइपुग्नु भएको छ । अब तपाईँको भावी योजना चाहिँ के छ ?
भारतमा बैंकिङ्ग पहुँच पुगेको सबै जनसंख्या हामीसँग जोडिनुपर्छ भन्ने लाग्छ । भारतमा आर्थिक कारोबार गर्ने सबैसँग लेनदेन पुग्नुपर्छ । यस्तै, दक्षिण एसियामा नै यो पीटूपी लेन्डिङ पुर्याउने लक्ष्य लिएका छौँ । सुरुमा भारतमा नै ठुलो बनाउने र भविष्यमा नेपाल, बङ्गलादेश, श्रीलंकातर्फ पनि फैलाउने योजना छ । नेपालका नियामणकारी निकायसँग एकाध पटक छलफल भएको छ ।
नेपालको हकमा कुरा गर्दा राष्ट्र बैंकले पीटूपी लेन्डिङसँग सम्बन्धित ‘ड्राफ्ट’ नै सार्वजनिक गरेको थियो । आगामी दिनमा पीटूपी लेन्डिङ ल्याउन चाहनुहुन्छ भने म सहयोग गर्न तयार छु ।
अब अलि फरक विषयमा कुराकानी गरौँ । नेपालबाट धेरै विदेशीनेक्रम जारी छ । तपाई एउटा उदाहरण पनि हो । जो नेपालबाट विदेश पुगेर व्यवसायमा जम्नु भएको छ । यसबारे तपाईँको धारणा के छ ?
सबै जना आफ्नो प्रभाव विस्तार गर्न चाहन्छन् । सबैले आफ्नो प्रभाव र व्यवसाय विस्तारका लागि उत्तम वातावरण खोज्न । म नेपाल छाडेर विदेशमा ‘आन्टरप्रेनर’ बनेको छु । तर, विदेशमा उद्यमी बन्नुअघि २०१३ मा जागिरको खोजीमा नेपाल नपुगेको होइन । नेपालमा अवसर नपाएपछि भारत फर्किएर फेरी २०१५ मा पुनः नेपालमा अवसरको खोजीमा फर्केको थिए । त्यतीबेला विद्यालय स्थापनाको लक्ष्यसहित नेपाल आउँदा कामको अन्तिम परिणाम आएन । नेपालमा पठाओ र टूटल आउनुभन्दा अघि नै यस्तै खालको सेवा सुरु गर्न प्रयास पनि गरेको थिए । ‘ट्याक्सी अन डायल’ भन्ने कम्पनी स्थापनाका लागि दर्ता प्रक्रिया समेत अघि बढाइसकेको थिए । तर, कार्यान्वयन गर्न सकिन्न ।
यी सबै प्रयास असफल बनेपछि भारत फर्किएर लेनदेनमा आबद्ध भएपछि धेरै भारतीयले र केही नेपालीले पनि चिन्छन् । मेरो कम्पनीमा नेपालीहरू पनि छन् र नेपालमा पनि केही गर्ने प्रयास गरिरहन्छु । मैले भारतमा नागरिक बन्ने खालको कागजात लिएको छैन । अझै नेपाली पासपोर्ट छ ।
भारतमा तपाई लामो समयदेखि व्यवसायीक यात्रा गर्दै हुनुहुन्छ । भारतको व्यवसायीक संस्कारबाट नेपालले सिक्नुपर्ने विषय धेरै नै छन् । नेपालले भारतबाट के सिक्न सक्छन् ?
भारतको मुम्बईमा ‘बाँच अनि बाच्न देऊ’ र ‘गर अनि गर्न देऊ’ भनाई कार्यान्वयनमा छ । मुम्बईमा सबैले एक अर्काको कामको इज्जत गर्छन् । यहाँ अवरोधहरू खासै छैन । भारतमा नेपालमा जस्तो गरिखान चाहनेलाई सहज वातावरण छ । यस्तै, सबै जनाले केही गर्नुपर्छ भन्ने ‘माइन्ड सेट’ भारतमा छ । सबैको एउटा सपना र लक्ष्य छ । तर, नेपालमा सायदै धेरैको छ । यस्तै, भारत सरकारले पनि ‘स्टार्टअप’लाई सहयोग गर्ने नीति लिएको छ भने नवप्रवर्तन व्यवसायी समेत ‘मोटिभेटेड’ छन् ।
भारतले विद्युतीय भुक्तानी र प्रविधिमा ठुलो फड्को मारिरहेको छ । तपाई भुक्तानी क्षेत्रमा नै काम गर्दै हुनुहुन्छ । भारतले यो क्षेत्रमा गरेको प्रगतिबाट नेपालले सिक्नुपर्ने विषय र लिन सक्ने लाभ के हुन सक्छ ?
नेपाल र भारतबीच आ–आफ्नै चुनौती छन् यो क्षेत्रमा । ‘डिजिटल पेमेन्ट इन्फ्रास्ट्रक्चर’मा नेपाल र भारतले नै सिक्दैछन् । तर, नेपालको तुलनामा भारत अघि छ । नेपालले क्यूआर कोडमा फड्को मारेको छ । दुवै देश सिमलेश बोर्डर ट्रान्जेक्सनमा अघि बढ्दै छन् । यसको आफ्नै नाफा–घाटा छन् । नेपालमा नयाँ–नयाँ इनोभेसन पनि भइरहेका छन् । नेपाल र भारतमा नै नव उद्यमी र लगानीकर्ता गरी दुई प्रकारका व्यवसायी छन् । नेपालमा बनेको लुडो एपले विश्वभरमा राम्रो आम्दानी गरिरहेको छ । यसले नेपालमा समेत ठुलो सम्भावना छ भन्ने देखाउँछ ।
इनोभेसन र क्वालिटी भएमा धेरै थोक गर्न सकिन्छ । नेपालमा एउटा ‘अन्टरप्रेनर’ले ४ वटा योजनामा काम गरिरहेको हुन्छ र एउटामा पूर्णरुपमा ध्यान केन्द्रित गर्न पाउँदैन । मैले पनि एउटा व्यवसाय सुरु गरेर त्यसमा नै केन्द्रित छु । ९ वर्षअघि शून्यबाट सुरु भएको व्यवसाय डेढ वर्ष अघि सम्ममा १ करोड सेवाग्राही थिए । त्यसको १ वर्षपछि २ करोड र अहिले ३ करोड सेवाग्राही पुगेका छन् । यो एउटा काममा पूर्णरुपमा केन्द्रित बनेर नै हो ।
३ करोड सेवाग्राहीले दैनिक कारोबार गर्छन् ? सबैले गरे पनि कतिको कारोबार हुन्छ ?
३ करोड सेवाग्राहीले दैनिक कारोबाररुमा गर्दैनन् । उनीहरू ‘लाई टाइम’ सेवाग्राही हुन । दैनिक कारोबारको रकम फरक–फरक हुन्छ । मासिकरुपमा २५० करोड भारु बराबरको कारोबार हुन्छ । एकताका १५ सय करोडड भारु प्रतिमहिनासम्म कारोबार भएको थियो ।
प्रतिक्रिया