पाँच महिनामा सबैभन्दा बढी कमाउने वाणिज्य बैंकमा नबिल, अन्य बैंकले कति कमाए ?

पाँच महिनामा सबैभन्दा बढी कमाउने वाणिज्य बैंकमा नबिल, अन्य बैंकले कति कमाए ?


काठमाडाैं – चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिना मंसिरसम्म वाणिज्य बैंकहरुले सवा ३० अर्ब रुपैयाँ नाफा कमाएका छन् । केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको मंसिरसम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा गरेका २० वटा वाणिज्य बैंकहरुले ३० अर्ब २४ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

समीक्षा अवधिसम्म कृषि विकास बैंक घाटामा गएको छ भने बाँकी १९ वटा वाणिज्य बैंकले नाफामा गएका छन् । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १३ वटा बैंकले नाफा बढाउन सफल भएका छन् भने बाँकीको घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म वाणिज्य बैंकहरुले २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ६.६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउने वाणिज्य बैंकमा नबिल बैंक रहेकाे छ । बैंकले चालु आवको मंसिरसम्म ३ अर्ब ४९ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। त्यस्तै, समीक्षा अवधिमा सबैभन्दा कम कमाउने वाणिज्य बैंकमा एनआइशी एसिया बैंक रहेकाे छ । साे अवधिमा बैंकले ६३ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै, समीक्षा अवधिमा कृषि विकास बैंक ३५ करोड २४ लाख रुपैयाँ घाटामा रहेको छ।

समिक्षा अवधिमा ग्लोबल आइएमई बैंकले २ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब ४९ करोड १० लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले १ अर्ब ९६ करोड ८९ लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड २ लाख रुपैयाँ, एनएमबी बैंकले १ अर्ब ९० करोड ६४ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ६४ करोड ७ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यस्तै, साे अवधिमा नेपाल बैंकले १ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले १ अर्ब ३४ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। त्यस्तै, चालु आर्थिक वर्षको मंसिरसम्म हिमालयन बैंकले १ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ९७ करोड ९० लाख रुपैयाँ, सानिमा बैंकले ९० करोड ४१ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ७१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख रुपैयाँ, सिटिजन्स बैंकले ६९ करोड ४९ लाख रुपैयाँ नाफा कमाएका छन् ।