काठमाडौं – लियो क्लब अफ काठमाडौं सौहार्दले ‘आवाज मञ्च’ नामक स्पीच कम्पिटिसन आयोजना गर्ने भएको छ । शनिबार बसेको सौहार्दको कार्यसमिति बैठकले मार्च ८, २०२५ अर्थात् २०८१ साल फागुन २४ गते शनिबारको दिन उक्त स्पीच कम्पिटिसन आयोजना गर्ने निर्णय गरेको हो ।
लियो क्लबले अन्तरराष्ट्रीय महिला दिवसको अवसरमा यस्तो कार्यक्रम गर्न लागेको हो । लियो क्लब अफ काठमाडौं सौहार्दले विभिन्न ६ वटा विषयवस्तुमा केन्द्रीत भएर स्पीच कम्पीटिसन आयोजना गर्ने जनाएको छ ।
लियो क्लबले प्रतियोगितामा महिला सशक्तिकरण, शिक्षा, बेरोजगारी, वित्तीय तथा कानूनी साक्षरता, दिगो विकास र व्यापार, व्यवसाय लगायतकाका विषय समावेश गर्ने जनाएको छ । प्रतियोगितामा सहभागी हुनका लागि इच्छुकले लियो क्लब अफ काठमाडौ सौहार्दको आधिकारिक फेसबुक पेजमार्फत अनलाईन आवेदन पेश गर्न सक्नेछन् ।
माघ २ गते देखि माघ २८ गतेसम्म अनलाइन आवेदन भर्ना सकिने छ । यसका लागि प्रतिव्यक्ति १०० रुपैयाँका दरले शुल्क लाग्नेछ । क्लबका अनुसार प्रतियोगितामा बिजयी हुनेलाई पुरस्कार स्वरूप मेडल, प्रमाणपत्रका साथै विजेताको लागि ५० हजार रुपैयाँ र उपविजेताको लागि ३० हजार रुपैयाँ नगद राशीको पनि व्यवस्था गरिएको जनाएको छ ।
लियो क्लब अफ काठमाडौं सौहार्दले पछिल्लो ३ वर्षदेखि लगातार यस्तो कार्यक्रम गर्दै आएको छ। जसमा विभिन्न विद्यालयका विद्यार्थी र देशभरका लियो सदस्यहरुको सहभागिता रहेको सौहार्दले जनाएको छ । त्यसैले लियो क्लब अफ काठमाडौं सौहार्दले यस वर्ष पनि विभिन्न विद्यालयका विद्यार्थी, युवा तथा लियो सदस्यहरुले प्रतियोगितामा भाग लिने विश्वास लिएको छ ।
प्रतिक्रिया