रवि लामिछाने पुनः प्रहरी हिरासतमा

रवि लामिछाने पुनः प्रहरी हिरासतमा


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई फेरि न्यायिक हिरासत पठाइएको छ ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो।

अदालतका ६ नम्बर वरीयताका न्यायाधीश अधिकारीको इजलासमा आज लामिछानेको बयान भएको थियो। तर थुनछेक बहस नभएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको हो।

लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ। सोमबार ११ बजेबाट प्रहरीले रविलाई पुनः अदालतमा उपस्थित गराउनेछ। त्यसपछि थुनछेक बहस सुरु हुने बताइएको छ। 

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरुद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो। उक्त मुद्दाको प्रतिवाद गर्न उनी बिहान आफै अदालतमा उपस्थित भएका थिए । 

 लामिछाने उपस्थित भएपछि न्यायाधीश अधिकारीको इजलासमा उनको बयान भएको थियो। सूर्य दर्शन सहकारी ठगी प्रकरणमा लामिछाने बिहीबार मात्र कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।