बैंकमा पैसा थुप्रियो, ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

बैंकमा पैसा थुप्रियो, ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक


काठमाडौं –  केन्द्रीय  बैंकले फेरि  बैंकिङ्ग  प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज पुस २८ गते  अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट पैसा खिच्न लागेको हो।

यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको माघ २०  गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले पुस यसअगाडि पुस ३ गते १ खर्ब रुपैयाँ, पुस ७ गते र ९  गते ४० अर्ब रुपैयाँ र १४ गते ७० अर्ब रुपैयाँ, १७ गते ४० अर्ब रुपैयाँ, २१ गते ५० अर्ब रुपैयाँ, २४ गते ८० अर्ब रुपैयाँ तरलता खिचेको थियो ।