काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेप र कर्जा प्रवाह दुवै बढेको छ । केन्द्रीय बैंकको पुष २३ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ९१ अर्ब निक्षेप संकलन भएको छ । अघिल्लो बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।
यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि बढेको छ । पुष २२ गते ५९ खर्ब ४९ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले २३ गते ५९ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । समीक्षा अवधिमा कर्जा प्रवाहमा सामान्य सुधार देखिएको छ । पुष २२ गते ५३ खर्ब ७२ अर्ब कर्जा प्रवाह भएकोमा पुष २३ गते ५३ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
सो अवधिमा वाणिज्य बैंकहरूबाट हुने कर्जा प्रवाह पनि बढेको छ । पुष २२ गते ४७ खर्ब ६० अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले २३ गते ४७ खर्ब ६२ अर्ब कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकका अनुसार सो समयमा सीडी रेसियो ७९ दशमलव ०५ प्रतिशत रहेको छ । त्यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर २.९२ प्रतिशत रहेको छ ।
प्रतिक्रिया