काठमाडौं – नेपाल बीमा प्राधिकरणका निर्देशक शुसिलदेव सुवेदीले नियमनकारी निकायको भूमिका नै बीमा कम्पनीहरूको नियमन गर्नु भएको बताएका छन्। दोस्रो नेशनल इन्स्योरेन्स-२०२५ को दोस्रो सत्र निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधलाई सम्बोधन गर्दै निर्देशक सुवेदीले बजारमा सबै खालका बीमा कम्पनी सञ्चालनमा रहेका र गलत गर्ने कम्पनीलाई प्राधिकरणले आवश्यक कारबाही गर्ने समेत बताएका हुन्।
निर्देशक सुवेदीले भने, ‘बजारमा राम्रा र नराम्रा कम्पनी सञ्चालनमा छन्। ती कम्पनीहरूलाई हामीले उजुरीका आधारमा कारबाही गर्ने पनि गर्छौँ।’ यस्तै, बीमा कम्पनीहरु सबै नराम्रा नभएको बताउँदै नेपालमा अन्य मुलुकको तुलनामा तुलनात्मकरुपमा राम्रा र सेवाग्राहीको विषयलाई ख्यालमा राख्न सक्ने खालका कम्पनी रहेको निर्देशक सुवेदीको भनाई छ।
दोस्रो संस्करणको डिस्कोर्शमा मुख्यगरी ४ वटा सत्र रहेका छन्। जसमा दोस्रो सत्रमा निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध’ शीर्षकमा छलफल भएको छ। यस सत्रमा सहजकर्ताको रुपमा वरिष्ठ पत्रकार टिकाराम यात्री रहेका छन्। यस सत्रको वक्ताको रुपमा सुवेदीका साथै सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुधुम्न उपाध्याय, शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीप प्रकाश पाण्डे, नेपाल बीमक सघंका अध्यक्ष एवम् सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री रहेका छन्।
देशको बीमा उद्योगको दिगो विकास, स्थायित्व र प्रबद्र्धन तथा ग्रामीण तहसम्म पहुँच विस्तारमा सकरात्मक भूमिका खेल्ने लक्ष्यसहित बैंकिङ्ग समाचारले २०८० सालदेखि इन्स्योरेन्स डिस्कोर्श आयोजना गर्दै आइरहेको छ। यसअघि बैंकिङ्ग समाचारले २०८० को भदौ १८ गते काठमाडौंको सोल्टी होटलमा डिस्कोर्श सम्पन्न भएको थियो।
डिस्कोर्शका क्रममा नेपालमा जीवन र निर्जीवन बीमा कम्पनीहरुले भोग्दै आइरहेको समस्या र चूनौतीका विषयमा गहन छलफल गरेको थियो। यस्तै, लक्ष्यबमोजिम बीमाको विस्तार हुन नसक्नुको कारण खोजी भएको थियो भने भावी दिनमा बीमाको पहुँच र व्यवसाय विस्तारमा सरोकारवाला निकायले खेल्नुपर्ने भूमिकाको विषयमा बृहत् छलफल भएको थियो।
प्रतिक्रिया