बीमा कम्पनीहरूले मौसमसँग सम्बन्धित बीमा योजना ल्याउनुपर्छ: सीईओ उपाध्याय

बीमा कम्पनीहरूले मौसमसँग सम्बन्धित बीमा योजना ल्याउनुपर्छ: सीईओ उपाध्याय


काठमाडौं – सानिमा जीआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  सुद्युम्नप्रसाद उपाध्यायले भावी दिनमा बीमा कम्पनीहरुले जलवायुसँग सम्बन्धित विषयलाई समेटेर बीमा योजना ल्याउनुपर्ने बताएका छन् ।  उपाध्यायले दोस्रो नेशनल इन्स्योरेन्स २०२५ को दोस्रो सत्र निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधलाई सम्बोधन गर्दे  भावी दिनमा जलवायु परिवर्तन लगायतलाई मध्यनजर गर्दै बीमा योजना ल्याउनुपर्ने बताएका हुन् ।

यस्तै, उनले नेपालमा एक पटक बीमा सुरु गर्ने र निरन्तरता नदिने प्रचलन व्याप्त रहेको समेत बताए । बीमा सुरु गरेपछि निरन्तरता नदिनु नै आजको बीमा व्यवसायको मुख्य चुनौती भएको बताएका हुन् । यसैगरी, अनिवार्य गरिएका मोटर बीमा समेत कार्यान्वयन नभएको उपाध्यायको भनाई छ ।

यसबाहेक, प्रविधिलाई अंगाल्नेक्रममा समेत बीमा कम्पनीहरु तयार नभएको उनको भनाई छ । धेरै क्षेत्र प्रविधिलाई उच्चतम तहसम्म प्रयोग गरिसकेका छन् । तर, बीमा कम्पनीहरुले सेवाप्रदायकको डिजिटल नम्बर राख्नै नसकेको उनको भनाई छ । यद्यपि अबको भावी ३ देखि ४ वर्षको अवधिमा यो क्षेत्रले ठुलो फड्को मार्ने उपाध्यायको भनाई छ ।

दोस्रो संस्करणको डिस्कोर्शमा मुख्यगरी ४ वटा सत्र रहेका छन् । जसमा दोस्रो सत्रमा निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध’ शीर्षकमा छलफल भएको छ । यस सत्रमा सहजकर्ताको रुपमा वरिष्ठ पत्रकार टिकाराम यात्री रहेका छन्।

यस सत्रको वक्ताको रुपमा उपाध्याय साथै नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदी, सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुधुम्न उपाध्याय, शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीप प्रकाश पाण्डे, नेपाल बीमक सघंका अध्यक्ष एवम् सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री रहेका छन् ।