काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालले ६५ वर्षभन्दा बढी उमेर पुगेकाले पनि बीमा गरिरहेको बताएका छन्। दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ को पहिलो सत्र जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरूलाई सम्बोधन गर्दै ६५ वर्षभन्दा बढी उमेर पुगेका व्यक्तिहरुको पनि बीमा गरिरहेको बताएका हुन्।
सीईओ अर्यालले भने, ‘हामीले ६५ वर्ष पुगिसकेका व्यक्तिहरुको पनि बीमा गराइरहेका छौँ। बढी उमेरका व्यक्तिहरुको बीमामा प्रिमियम बढी हुने र ६५ वर्षभन्दा बढीको व्यक्तिहरुमा बढी रोगका प्रभाव पर्ने हुँदा कम्पनीहरुलाई केही समस्या भइभइरहेको छ।’
दोस्रो संस्करणको डिस्कोर्शमा मुख्य गरी ४ वटा सत्र रहेका छन्। जसमा पहिलो सत्रमा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरूमा छलफल भएको छ। यस सत्रमा सहजकर्ताको रूपमा बैंकिङ्ग समाचार डट्कमका समाचार प्रमुख निकेश खत्री रहेका छन्। यस सत्रमा वक्ताको रूपमा अर्यालका साथै नेपाल बीमा प्राधिकरणकी निर्देशक पूजन ढुंगेल, रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण बाबु लोहनी, जनसंख्या विश्लेषण चेतन अधिकारी रहेका छन्।
देशको बीमा उद्योगको दिगो विकास, स्थायित्व र प्रबद्र्धन तथा ग्रामीण तहसम्म पहुँच विस्तारमा सकरात्मक भूमिका खेल्ने लक्ष्यसहित बैंकिङ्ग समाचारले २०८० सालदेखि इन्स्योरेन्स डिस्कोर्श आयोजना गर्दै आइरहेको छ। यसअघि बैंकिङ्ग समाचारले २०८० को भदौ १८ गते काठमाडौंको सोल्टी होटलमा डिस्कोर्श सम्पन्न भएको थियो।
डिस्कोर्शका क्रममा नेपालमा जीवन र निर्जीवन बीमा कम्पनीहरुले भोग्दै आइरहेको समस्या र चूनौतीका विषयमा गहन छलफल गरेको थियो। यस्तै, लक्ष्यबमोजिम बीमाको विस्तार हुन नसक्नुको कारण खोजी भएको थियो भने भावी दिनमा बीमाको पहुँच र व्यवसाय विस्तारमा सरोकारवाला निकायले खेल्नुपर्ने भूमिकाको विषयमा बृहत् छलफल भएको थियो।
प्रतिक्रिया